News

काँग्रेसद्वारा नगर प्रमुख र उपप्रमुखसँग अन्तरसंवाद

काँग्रेसद्वारा नगर प्रमुख र उपप्रमुखसँग अन्तरसंवाद

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र उपप्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ । 

 

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मुलुकभरबाट सहभागी नगर प्रमुख र उपप्रमुखलाई पार्टीका शीर्ष नेताका साथै विभिन्न विषयका विज्ञहरुले प्रस्तुति दिएका छन् । 

 

तीनै तहका सरकारले जथाभावी कर लगाएको भन्दै सर्वसाधारणबाट आक्रोश बढेपछि काँग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग पहिलो चरणमा यो कार्यक्रम गरेको जनाएको छ ।

 

स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा काँग्रेसबाट निर्वाचित १८९ नगर प्रमुख र उपप्रमुख छन् । कार्यक्रमको प्रथम सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना विषयमा, द्वितीय सत्रमा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्यः न्यायिक र कानूनी पक्षमा, तृतीय सत्रमा पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्धमा प्रस्तुति दिने छन् । 

 

सो कार्यक्रममा पार्टीका नेताका साथै अन्य विभिन्न क्षेत्रका विज्ञले पुरक टिप्पणी गर्नुहुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । समापन सत्रमा काँग्रेसको तर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिका विषयक कार्यक्रम हुनेछ । 

नेपाली काँग्रेस प्रमुख र उपप्रमुख अन्तरसंवाद

विशेष