News

बिमस्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी परिचालित

बिमस्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी परिचालित

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ । सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो ।

 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको सरकारले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गर्नेछ । सेनाकै सुरक्षा योजनाअनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् ।

 

संयोजक सुवेदीले सुरक्षा योजना पारित भएर लागू पनि भइसकेको बताए । उनले भने, ‘मेरै संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनेको छ । जसमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा गुप्तचर परिचालन हुनेछन् । सुरक्षा प्रबन्ध मजबुत पारिएको छ । सुरक्षा प्रबन्धमा कुनै सम्झौता गरिएको छैन ।’


यस्तो रहनेछ सुरक्षा घेरा
गृहका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् । सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली पनि सादा पोसाकमा खटिनेछन् । यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरू हतियारसहित हुनेछन् । तर, नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुन्छन् ।

 

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बिमस्टेक सम्मेलनका लागि आवश्यक सुरक्षा प्रबन्ध पूरा भएको बताए । उनले भने, ‘भिभिआइपी र भिआइपीको सुरक्षा प्रबन्ध सेनाको कमान्डमा हुँदै आएको छ । यसपटक पनि सोही विधिअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । यसको संयोजन भने गृह मन्त्रालयबाट भएको छ । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी राखिएको छैन ।’

 

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी मनोज न्यौपानेले सुरक्षा घेरा तीनभन्दा अझ धेरै पनि हुन सक्ने बताए । उनले भने, ‘सुरक्षा घेरा यति नै भन्ने हुँदैन । त्यो आवश्यकताले निर्धारण गर्ने हो । तीनभन्दा धेरै पनि हुन सक्छ । जे होस् हामी सुरक्षा प्रबन्धप्रति सचेत छौँ । आवश्यक सबै तयारी पूरा भएको छ ।’


हेलिकोप्टरबाट पनि निगरानी
सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीले भने, ‘बिमस्टेक सम्मेलन अवधिभर हवाई प्याट्रोलिङ हुनेछ । विशेषगरी सम्मेलनस्थल तथा भिभिआइपी आवागमन गर्ने क्षेत्रमा हवाई गस्ती हुनेछ ।’

 


भिभिआइपी उडानले ५ दिन विमानस्थल प्रभावित हुने
बिमस्टेकको चौथो सम्मेलनका लागि मंगलबारबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु हुँदै छ । जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि शनिबारसम्म प्रभावित हुने भएको छ ।

 

सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौंं आइपुग्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकारप्रमुखको आवागमनका समयमा कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुन्छ । - नयाँ पत्रिकाबाट ।

 

बिमस्टेक नेपाली सेना

विशेष