उत्तर कोरिया अझै विश्वासको घेरामा छैन : जापान
टोकियो । जापानले उत्तर कोरियालाई अझै पनि विश्वास गर्न नसकिने भनी टिप्पणी गरेको छ ।
जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।
जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरूले उत्तर कोरियाको पछिल्लो स्थितिमाथि छलफल गर्दै उसलाई अझै विश्वासको घेरामा राख्ने आधार विकास भइनसकेको निष्कर्श निकालिएको हो । त्यसैगरी चीनको बढ्दो सैन्य संख्यालाई पनि सो सुरक्षा समीक्षाको विषयवस्तु बनाइएको छ ।
यसअघि गतवर्ष जापानको यस्तो सुरक्षा बैठक उत्तर कोरियाको आणविक कार्यक्रम उत्कर्षमा पुगेको समयमा गरिएको थियो । त्यसपछिको वार्षिक सुरक्षा बैठक मंगलबार सुरु भएको हो ।
तर गत वर्षको यस्तो बैठकका समयमा पनि उत्तर कोरियालाई सुरक्षा खतरा र समस्याका रूपमा लिइएको थियो । त्यसपछि उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुन महिनामा सिंगापुरमा भेट भएपछि उत्तर कोरियाले आणविक उत्पादनको काम नगर्ने बताएको थियो ।
त्यसपछि उत्तर कोरिया अब आणविक खतरा नरहेको अमेरिकाले बताएको थियो । तर पनि जापानले भने त्यसप्रति ढुक्क हुने अवस्था नरहेको दोहो¥याएर टिप्पणी गरेको हो ।
उत्तर कोरियाको आणविक कार्यक्रम र उसको क्षेप्यास्त्र कार्यक्रमहरूका बारेमा जापानले विगतदेखि उत्तर कोरियालाई जुन मान्यतामा राखेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नआएको जानकारी जापानमा मंगलबार सुरु भएको सो सुरक्षा बैठकमा बताइएको छ ।
जापानले उत्तर कोरियाले गरेको प्रतिबद्धताबमोजिम आणविक कार्यक्रम स्थगित गरेको भन्ने बारेमा अझै पनि ढुक्क हुनसक्ने अवस्था नआएको सो बैठकमा बताएको हो । –एजेन्सी