आपराधिक क्रियाकलाप कम गराउने छौँ : मन्त्री बादल
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा घट्ने प्रत्येक घटनाहरू राजनीतिक स्थाइत्व भड्काउने किसिमको रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा सांसदहरूबाट उठेको प्रश्नको जवाफ दिँदै अहिले मुलुकमा विभिन्न धार्मिक तथा साम्प्रदायिकता भड्काउने किसिमले घटिरहेको हुनाले सरकार यस विषयप्रति सचेत रहेको बताए । गृहमन्त्री बादलले संसदमा जवाफ दिँदै कन्चनपुरमा घटेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण रहेको हुनाले थप अनुसन्धान गरिहेको पनि जानकारी गराए ।
कन्चनपुरको भिमदत्त नगरपालिकामा १३ वर्षिया बालिकाको बलात्कार भएर हत्या गरिएको विषयलाई लिएर सांसदहरूले गम्भीर ध्यानाकर्षण गराएका थिए । सांसदहरूले संसदमा गहन विषय उठाएकोमा धन्यवाद दिँदै मन्त्री बादलले यस विषयमा घटना भए लगत्तै सरकार गम्भीर रुपमा प्रस्तुत भएको स्पष्ट पारे । घटनापछि केही आरोपित दोषिहरूलाई पक्राउ गरी बाँकी अनुसन्धानका लागि प्रहरी प्रशासनलाई कडा रुपले प्रस्तुत हुन निर्देशन दिएको पनि जानकारी गराए ।
त्यसैगरी सांसद निरु पाललाई गोलि तेर्साएर धम्की दिएको घटनालाई पनि सरकारले अनुसन्धान गरिरहेको बताए । अहिले मुलुक विकास र समृद्धितर्फ अघि बढिरहेको समयमा मुलुकको शान्ती र अस्थाइत्व भड्काउने किसिमले यस्ता घटनाहरू घटेको पनि उल्लेख गरे । ‘सरकार शान्ती र समृद्धिको पक्षमा छ ’उनले भने ‘त्यसैले देशमा कुनैपनि किसिमका गम्भीर घटनाहरू घट्न नदिनका लागि सरकारले कडा कदम चालिरहेकको छ ।’ मन्त्री बादलले पछिल्लो समयमा देशमा आपराधिक कृयाकलापमा कमी आएको भन्दै यस्ता घटनाहरू विस्तारै कम गराउँदै जाने प्रतिवद्वता पनि व्यक्त गरे ।