मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या
मेक्सिको सिटी । मेक्सिकोको कानकुन सहरमा एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ ।
सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ ।
जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रूपमा काम गर्दथे । टेलिभिजन स्टेसनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टि गरेको जनाएको छ ।
क्विन्टाना राज्यको सरकारले पत्रकार एनरिकसहित अर्को व्यक्तिको पनि बुधबार गोली हानी हत्या गरिएको जनाएको छ । उनीहरू दुबैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो ।
क्यानल १० टेलिभिजन स्टेसनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।
दुई महिनाको अवधिभित्रै क्विन्टानामा मारिएका पत्रकारमा एनरिक तेस्रो हुन् । यसअघि जुलाई महिनामा प्लाया न्युजका प्रधान सम्पादक रुबेन पाटको प्लाया डेल कार्मेनमा गोली हानी हत्या भएको थियो ।
यसै वर्ष जुन २९ मा क्विन्टानाको दक्षिणी मायान आदिवासी गाउँमा जोसे ग्वाडालुप चानको गोली हानी हत्या गरिएको थियो । उनी पनि प्लाया न्युज अखबारमा संवाददाताको रूपमा कार्यरत थिए । गत वर्ष मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । विभिन्न वाक् स्वतन्त्रता पक्षधर संस्थाहरूका अनुसार सन् २००० यतामात्र मेक्सिकोमा १ सयभन्दा बढी पत्रकारको हत्या भएको छ । अधिकांश यी जघन्य अपराधका दोषीमाथि कारबाही नभएको यी संस्थाहरूको भनाइ छ । –एजेन्सी