विदेश

तालिबानका प्रमुख कमान्डर मारिए

तालिबानका प्रमुख कमान्डर मारिए

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतंककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमान्डर कारी कयुमसहित चार आतंककारी मारिएका छन् । यस कारबाहीमा अन्य आठ आतंककारी घाइते भएका सो क्षेत्रका सेनाका प्रवक्ता मोहमद हनीफ रेजाइले बिहीबार जानकारी दिएका छन् ।

 
अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट अमेरिकाआबद्ध नेटो संयुक्त गठबन्धन सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै प्रायः सेना त्यहाँबाट आ–आफनो देश फर्किएका थिए । 


त्यहाँ बाँकी करिब १२ हजार संयुक्त गठबन्धनका सेनाले पनि अफगान सेनालाई सल्लाह र तालिम दिने तर युद्धभूमि गएर तालिबान र अन्य आतंककारी समूहसँग युद्ध नगर्ने घोषणा गरेका थिए ।

 
सो घोषणापछि सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सैनिकको काँधमा आएको थियो । 
यद्यपि त्यसपछि अफगान सुरक्षा अधिकारीहरूको हताहतमा वृद्धि भए तापनि तालिवान र इस्लामिक स्टेट्स आतंककारी समूहमाथि हुँदै आएको कारबाहीमा यहाँ सुरक्षा अधिकारीहरूले सफलता नै प्राप्त गरेका छन् । (एजेन्सी)


 

अफगानिस्तान

विशेष