प्रश्न सोध्न नपाएकाेमा कांग्रेसकाे आपत्ति
काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रतीपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बिहिबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्र मन्त्रीले बोलेपछि मन्त्रीद्धयलाई विपक्षी दलका सांसदले प्रश्न गर्न चाहे । तर सभामुखले प्रश्न गर्न नदिएपछि उनीहरूले बैठकलाई बहिष्कार गरेका थिए ।
सोही घटनालाई लिएर शुक्रबारको नेपाली कांग्रेसको बैठकले छलफल गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रमुख सचेतक खाँणले भने, ‘मन्त्रीले वक्तव्य दिइसकेपछि सांसद्ले प्रश्न सोध्न पाउने र मन्त्रीले जवाफ दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ तर सभामुखले समय माग गर्दा पनि हामीलाई समय दिनुभएन ।’ त्यसैगरी प्रतिनिधि सभाको शुक्रबारको बैठक भने सूचना टाँसेर स्थगित गरिएको छ ।
कांग्रेसको बैठक लम्बिएपछि प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद उपश्थित नहुने भएपछि बैठक स्थगित भएको खाँणले बताए । खाँडले सभामुख सबैको साझा हुनुपर्नेमा विभेद गरेकोमा गुनासो गर्दै उनीसँग पुःन बसेर छलफल गर्नेपनि बताए ।
बैठकमा काँग्रेसले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र संकल्प प्रस्ताव लैजाने सम्बन्धमा समेत छलफल भएको थियो । काँग्रेसले संविधानका मौलिक हक कार्यान्वयनका लागि समय सीमाभित्र बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल गरेको छ । काँग्रेस संसदीय दलको बैठक शनिबार अपराह्न २ बजे पुनःबस्ने बताइएको छ ।