वरिष्ठ गायक तथा कलाकार रिमालको अन्त्येष्टि
काठमाडौ । वरिष्ठ गायक तथा कलाकार स्व हरिप्रसाद रिमालको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाए ।
स्व रिमाललाई उनका ज्येष्ठ सुपुत्र अरुणले दागबत्ती दिएका् चलचित्र निर्देशक तथा अभिनेता सम्राट सापकोटाले जानकारी दिए । अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा पुराना तथा नयाँ पुस्ताका कलाकार, सङ्गीतकर्मी, चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो ।
स्व रिमालको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो । रिमालको ९२ वर्षको उमेरमा शुक्रबार बिहान आफ्नै निवासमा निधन भएको हो । रिमालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मध्याह्नसम्म नयाँ बानेश्वरस्थित निवासमा राखिएको थियो ।
नाटककार बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’मा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र ‘आमा’ बाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए । उनी रेडियो नेपालमा गीत गाउने पहिलो गायक पनि हुन् ।