जोर विजोरले गर्दा मनपरी भाडा असुली, यात्रुलाई समस्या
काठमाडौं । यहि भदौ १३ गतेबाट लागु भएको जोर विजोर सवारीसाधन चलाउने नियमले गर्दा अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली लागु गरिएको हो । यो प्रणालीका कारण सडकमा कम सवारीसाधन चलिरहेका छन् । कम सवारीसाधन चलेका बेला सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रु रामबहादुर थापाले बताए ।
बिरामीलाई अस्पताल जान पनि सवारीसाधन पाउन मुस्किल छ, नियामक निकायले निरीक्षण गरेको छैन”–उनले भने । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राज्यले दिएको सहुलियतको नियम पनि सार्वजनिक यातायातले पालना गरेका छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाल नियमित अनुगमन भइरहेकाले बढी भाडा असुल्नेलाई कारवाही गरिने बताए ।
बढी भाडा लिने सवारीसाधन नम्बर महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ र विभागको नम्बरमा पनि सम्पर्क गरी टिपाउन सकिने विभागले जनाएको छ । ती सवारीसाधन चालकलाई ट्राफिक प्रहरीले पाँच हजारसम्म कारवाही गर्नेछ ।