विदेश

क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा अष्ट्रेलियाली निर्माता पक्राउ

क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा अष्ट्रेलियाली निर्माता पक्राउ

नोम्पेन्ह । अष्ट्रेलियाका चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ । रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ । 

 

उनलाई गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो । शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको भन्दै छ वर्षको जेल सजाय सुनाएको हो । गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी ¥यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए । 

 

यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्रा्ष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप उनलाई लगाइएको थियो । 

 

गत वर्षको जुनदेखि थुनामा राखिएको उनको मुद्दाको सुनुवाई यसै हप्ता शुरु भएको थियो । छ दिनको सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उनलाई छ वर्षको जेल सजाय सुनाएको हो । 

 

फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई छ वर्षको जेल सजायँ तोकिएको उक्त अदालतले बताएको छ । 

 

उनले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर सो आरोप रिक्सटनले भने अस्वीकार गरेका छन् । अदालतमा सुनुवाई भइरहेकै बेला उनले चर्को स्वरमा भने – विश्वासै गर्न नसकिने, मैले क्याम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरे ? 

 

चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलका विरुद्ध क्याम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिए । चलचित्र निर्माता रिक्सटन ६९ वर्षका छन् । उक्त फैसला सुनाइएपछि उनले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिए ।
 

अष्ट्रेलिया चलचित्र निर्माता जेम्स रिक्सटन क्याम्बोडियाका विरुद्ध जासुसी

विशेष