News समाज देश

संस्कृत विश्वविद्यालय उपकुलपतिमाथि छानबिन सुरु

संस्कृत विश्वविद्यालय उपकुलपतिमाथि छानबिन सुरु

 काठमाडौं । विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाटै फर्काइएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालामाथि छानबिन सुरु भएको छ । उपकुलपति कोइरालालाई विमानस्थलबाट फिर्ता गरिएको २८ दिनपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन सुरु गरेको हो ।

 

छानबिनका लागि मन्त्रालयले प्राध्यापक डा.राममान  श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समिति सदस्यमा नेपाल ल क्याम्पसका लक्ष्मीप्रसाद मैनाली, विश्वविद्यालय अनुदान आयोगका डा.विकास अधिकारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव देवकुमारी गुरागाई छन् ।

 

समितिलाई कोइरालाले सम्मेलनमा भाग लिन जाने क्रममा अपनाएको प्रक्रिया तथा नेपाल संस्कृत विश्वविद्यालय सम्बन्धमा परेका विभिन्न उजुरी तथा गुनासा छानबिन गरी प्रतिवेदन पेश गर्न भनिएको छ । क्यानडाको भ्यानकुभर शहरमा भएको सम्मेलनमा भाग लिन जान लाग्दा कोइरालालाई गत असार २३ गते त्रिभुवन विश्वविद्यालयबाट सुरक्षाकर्मीले फर्काएर सिधै प्रधानमन्त्री निवास बालुवाटार पु¥याएका थिए ।

 

आफ्नो स्वीकृति बिना विदेश जान लागेको भन्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा आलीको निर्देशनमा कोइरालालाई क्यानडा जानबाट रोकिएको थियो । विश्वविद्यालयका उपकुलपतिले विदेश भ्रमणमा जानु परे कुलपतिको अनुमति लिनुपर्छ ।

 

अनुमति नलिइ विदेश जान लागेको भन्दै कोइरालासँग रुष्ट ओलीले अपमानजनक तरिकाबाट विमानास्थलबाट फर्काएर प्रधानमन्त्री निवास ल्याउन अध्यागमन कर्मचारीलाई निर्देशन दिएका थिए । कोइरालासँगै संस्कृत सम्मेलनमा भाग लिनसँगै विमानास्थल गएका अन्य ६ जना कर्मचारी भने क्यानडा गएका थिए ।

 

उपकुलपति कोइरालाले भने आफूले भ्रमण बारेमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्रीलाई जानकारी गराएको र विगतमा पनि यही प्रक्रियाबाट विदेश गएको दाबी गरेका छन् । तर, शिक्षा मन्त्रालयले भने कोइरालाले बिदाका बारेमा कुनै जानकारी नगराएको स्पष्ट पारिसकेको छ । उनको भ्रमणलाई लिएर प्राध्यापकहरू पनि दुई कित्तामा विभाजित भएका छन् ।

 

वामपन्थी धारका प्राध्यापकहरूले विश्वविद्यालयका विद्यापिठ तथा अनुसन्धान केन्द्रमा आफूखशी प्राचार्य नियुक्त गरेको, गैर संस्कृतविद्लाई संस्कृत सम्मेलनमा भाग दिन पठाएको, विश्वविद्यालयमा हरेक निर्णय गर्दा एकलौटी अपनाएकोलगायतका अनियमितता कोइरालाले गरेको भन्दै छानबिनको माग गरेका थिए ।

छानबिन नेपाल संस्कृत विश्वविद्यालय प्रा.डा.कुलप्रसाद कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल

विशेष