News समाज देश

उपत्यकामा मापसेका कारण दुर्घटना

उपत्यकामा मापसेका कारण दुर्घटना

काठमाडौं । गत ५ साउनमा भक्तपुरको चाँगुनारायण-५ ढुंगेपाटीमा बा१क ८५५१ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा त्यसका सहचालक हिमाल घर्ती मगरको मृत्यु भयो । ट्रक चालक लक्ष्मीजंग सुलुले मादक पदार्थ सेवन गरेर ट्रक चलाएको प्रहरी अनुसन्धानबाट खुल्यो । 



१७ चैत ०७४ मा भक्तपुरको गठ्ठाघर चोकमा काठमाडौंबाट  भक्तपुर जाँदै गरेको बा८३प ४०४४ नम्बरको स्कुटर सडकको डिभाइडरमा ठोक्किँदा चालक दीपक खत्रीको मृत्यु भयो । प्रहरीका अनुसार ३१ वर्षीय खत्रीले मादक पदार्थ सेवन गरी सवारी चलाएको खुलेको छ । 



९ माघ ०७४ मा काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालनजिक भएको बा९१प ४३७१ नम्बरको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय चालक विक्रम सुवेदीको मृत्यु भयो । अस्पतालको रिपोर्टमा सुवेदीले मादक पदार्थ सेवन गरेको उल्लेख छ । 



६ असोज ०७४ मा नयाँ बानेश्वर चोकमा बा१५च ५४३१ नम्बरको कारले बा७७प ४२२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भक्तपुर सिरुटारका २६ वर्षीय मञ्जित राउतको मृत्यु भयो । प्रहरी नियन्त्रणमा रहेका कार चालक ३४ वर्षीय उद्धव चालिसेले मदिरा सेवन गरेर सवारी चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 



यी पछिल्ला केही घटना मात्र हुन्, जसले मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति रोक्न प्रहरीले चलाएको अभियान निष्प्रभावी बन्दै गएको संकेत गर्छन् । 



२२ साउन ०६६ मा बिहान साढे पाँच बजे काठमाडौं भोटाहिटीमा बा४च ८०३० नम्बरको होन्डा सिटी कारले कुल्चेर पाँच भारतीय नागरिकसहित ६ जनाको ज्यान गएको कहालीलाग्दो घटनापछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरू विरुद्ध अभियानै चलायो । छोटकरीमा मापसे भनिने उक्त अभियानका कारण मदिरा सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति मात्र कम भएन, उपत्यकाको सडक दुर्घटनाको दर पनि ह्वात्तै घटायो । 

चाँगुनारायण

विशेष