News

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा सेमेस्टर प्रणाली लागू गरेको छ । 

 

सेमेस्टर प्रणालीको सुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको त्रिविको दाबी छ । वार्षिक प्रणालीमा औसत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीअन्तर्गत औसतमा ६० प्रतिशतमाथि नतिजा आउन थालेको त्रिविले जनाएको छ । 

 

सेमेस्टर प्रणाली एउटा विषयको लागि कति क्रेडिट आवर प्रदान गरेर शिक्षण गर्ने भन्ने मापदण्ड निर्धारण गरी गुणस्तरीय पठनपाठन सञ्चालन गर्ने शैक्षिक प्रक्रिया हो । यसमा वार्षिक प्रणालीअनुसार एक विषयको १०० पूर्णाङ्क हुन्थ्यो भने, त्यही एक विषयको सेमेस्टर प्रणालीमा तीन क्रेडिट आवर मानिन्छ ।

 

“जति क्रेडिट आवर हुन्छ, हप्तामा त्यति नै घन्टा कक्षाकोठामा पठनपाठन क्रियाकलाप हुनुपर्दछ भन्ने अनिवार्य सर्त सेमेस्टर प्रणालीमा हुन्छ, प्रत्येक १०० पूर्णाङ्कका विषयको लागि मासिक कम्तीमा १२ क्रेडिट आवर अनिवार्य निर्धारण गरिएको हुन्छ । पूर्णाङ्क ५० मात्र हुने विषयको भने यसको आधा मात्र क्रेडिट आवर हुने गर्दछ । यसरी क्रेडिट आवरका हिसाबमा एक सेमेस्टरमा ४८ क्रेडिट आवर पठनपाठन हुने गरी चार महिनामा पूरा हुने गर्दछ । 

 

“विद्यार्थीहरूले वार्षिक प्रणालीअनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गर्ने परीक्षाको नतिजा आउने आठ÷नौ महिना पर्खनुपर्ने बाध्यता थियो । अहिले सेमेस्टर प्रणालीअनुसारको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको जिम्मेवारी सम्बन्धित संकायहरूको डीन कार्यालयलाई दिइएको छ । गत शैक्षिकसत्रमा व्यवस्थापन संकायतर्फ ०७४ माघ ११ गते परीक्षा सकिएकोमा दुई महिना १८ दिनपश्चात् ०७४ चैत २८ गते नतिजा प्रकाशन भएको त्रिविका सहायक प्रवक्ता नोदनाथ त्रितालले बताए । 

 

यस्तै मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ ०७४ माघ २ गते परीक्षा सकिएकोमा वैशाख अन्तिम सातादेखि जेठ अन्तिम सातासम्म विभिन्न विषयको परीक्षाको परीक्षाफल प्रकाशित भएको भइसकेको त्रिविले जनाएको छ । 

 

सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षाहरू डीन कार्यालयबाट सञ्चालन र नतिजा प्रकाशन सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पनि वार्षिक प्रणालीको परीक्षाको परीक्षाफल प्रकाशनमा हुने ढिलाइ कम गर्दै दुई महिनाभित्र नतिजा प्रकाशन गरेको छ ।

 

स्नातक तहको नतिजा प्रकाशनमा सुधार गरी परीक्षा समाप्त भएको चार महिनाभित्र अनिवार्य नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान राखिएको छ । यसबाट विद्यार्थीले नतिजाको लागि लामो समय पर्खनुपर्ने र समय खेर फाल्नुपर्ने समस्याको समाधान हुने उनको भनाइ छ ।

 

त्रिविमा गुणस्तरीय शिक्षाको लागि सेमेस्टर प्रणाली लागू गर्नु र परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने कार्यक्रममा उच्च शिक्षा सुधार परियोजनाले आर्थिक सहयोग गर्दै आएको छ । 

 

स्नातकोत्तर तहको सेमेस्टर प्रणाली आर्थिक वर्ष ०७०÷७१ बाट कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसबाट सुरु भएको हो । शैक्षिक सत्र ०७४ देखि उपत्यकाभित्र पूर्णरूपमा र शैक्षिक सत्र ०७५ देखि देशभर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको हो । 
 

स्नातकोत्तर तहको सेमेस्टर प्रणाली

विशेष