प्रधानमन्त्री ओलीका प्रेस संयोजक बजगाइँ चिप्लिएको त्यो क्षण....
काठमाडौं । दुई तिहाइ बहुमतको सरकार भन्ने दम्भ त प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई त छँदैछ ।
मन्त्रिपरिषद्ले पाँच महिनाभित्र हासिल गरेका उपलब्धिको तृण पनि बाँकी नराख्ने गरी प्रचारबाजीमा होडबाजी गर्ने प्रत्येक मन्त्रीहरूमा पछिल्लो पटक देखिएको एक प्रकारको व्यग्रता नै हो । यही व्यग्रताको क्रममा प्रधानमन्त्री ओलीका तलबधारी प्रेस संयोजक रामशरण बजगाइँले आफ्नो ट्विटर एकाउन्टमार्फत शनिबार एक ट्विट गरेका छन् । उनले ट्विटमा भनेका छन्, ‘केपी ओलीलाई गाली गर्नेलाई झापड, विराटनगरमा पाइपबाटै घरघरमा ग्यास ।’
ट्विट त ठीक्कै हो । तर ट्विटसँगै पोस्ट गरिएको तस्बिर चाहिँ भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा ‘ इन्दोर ः पाइप ग्यास नो म्याच्ड टु सब्सिडाइज्ड एलपिजी’ शीर्षकको समाचारमा संलग्न गरिएको तस्बिरलाई संलग्न गरी प्रेस संयोजक बजगाइँले ‘वाहवाही’ लुट्ने प्रयास गरेको देखिन्छ । परन्तु क्रेडिट कमाउने र विपक्षीलाई खुचिङ गर्ने हतारोमा आफ्नै ब्रेक फेल भएको बजगाइँले हेक्का राख्न सकेनन् । ट्विटर फेसबुक चलाउने सयौं सचेत र जागरुक प्रयोगकर्ताहरूले बजगाइँको ट्विटप्रति ‘मजाक’ सहित हाँसोमा उडाएको टिप्पणी धेरै पढ्न र हेर्ने सकिन्छ ।