२५ लाख धरौटीमा छुटे 'लुट' का निर्माता
काठमाडौं । पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा लुट फिल्मका निर्माता माधवराज वाग्ले रिहा भएका छन्।
नक्कली नोट छापेको आरोपमा वाग्ले गत जेठ २ मा पक्राउ परेका थिए। अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो। काठमाडौं जिल्ला अदालतले जेठ २९ मा अभियोग दायर गरिएका ६ मध्ये तीनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र दीपक नापित भने एक-एक लाख धरौटीमा र साजन भुलुन साधारण तारेखमा छुटेका थिए।
चलचित्र ‘चंगा चेट’ का निम्ति छापिएको नक्कली नोट फिल्म निर्माणका सदस्यले बजारमा लगेर दुरुपयोग गरेपछि घटना बाहिर आएको थियो।