कभर स्टोरी भिडियो राजनीति

विवेकशील साझाको कार्यक्रममा भाँडभैलो, कार्यकर्ताबीच झन्डै हात हालाहाल (भिडियोसहित)

विवेकशील साझाको कार्यक्रममा भाँडभैलो, कार्यकर्ताबीच झन्डै हात हालाहाल (भिडियोसहित)

काठमाडौं । विवेकशील साझा पार्टीले प्रदेश नं. ३ को जिल्ला संयोजक मनोनयन गर्न आयोजना गरेको कार्यक्रममा भाँडभैलो मच्चिएको छ । राजधानीको नयाँबानेश्वर ब्याङ्क्वेटमा शनिबार आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूबीच झन्डै हात हालाहालको स्थिति सिर्जना भएको हो ।

 
युवा कार्यकर्ताहरूले पार्टीका शीर्ष तहका नेताहरूले रातारात जिल्ला संयोजक तोकेको, युवाहरूलाई पन्छाएर अरू पार्टी जस्तै उमेर ढल्केका, विभिन्न कानुनी मुद्दामा आरोपित र दलाल प्रवृत्तिका व्यक्तिलाई पार्टी प्रवेश गराएको, लोकतान्त्रिक विधि, मूल्य र मान्यताविपरीत जिल्ला संयोजकहरू तोकेको जस्ता आरोप लगाउँदै युवा नेता, कार्यकर्ताहरूले नाराजुलुस गरेका थिए । 




विवेकशीलका एक युवा नेताले नेपाल आजसँग भने, ‘वैकल्पिक नयाँ शक्तिमा हुनुपर्ने आचरण पार्टीमा नभएको तथा पुरातनवादी, एकाधिकारवादी, सामन्ती शैलीले पार्टी सञ्चालन गर्न खोजेकाले हामीले विरोध गरेका हौं ।’ 


उनका अनुसार पार्टीमा पछिल्लो समय प्रवेश गर्नेहरू अरू पार्टीमा अवसर नपाएका, आफूहरूलाई विकास गर्न नसकेको र असक्षम झुन्ड रहेकाले पार्टी अन्य पार्टीभन्दा तल्लो स्तरको बन्दै गएको छ । 


विवेकशील साझा पार्टी यस्तै हो भने गुणात्मक रूपमा कांग्रेस र कम्युनिस्टभन्दा फरक नरहने उनको दाबी छ । यस्तै हो भने बाहिरी आवरण र भित्री रहस्य अरू पार्टीभन्दा तल्लो स्तरको हुनुले विवेकशील साझाको भविष्य नरहने उनको कथन छ । 


नेता कार्यकर्ताहरूले संसदेमा अब युवालाई प्रवेश गराउनुपर्ने तर्क अघि सारे ।  उनीहरूले आफूहरूले पार्टीको स्थापना कालदेखि निकै योगदान गर्दै आएको तर अहिले आफूहरूलाई पार्टीले उपेक्षा गरेको गुनासो पोखे । 


यद्यपि, संयोजक रवीन्द्र मिश्रले कोलाहलपूर्ण वातावरणका बीच प्रदेश नं. ३ का जिल्ला संयोजकहरू तोक्दै  बधाई तथा शुभकामना दिएका थिए । 


कार्यक्रममा तनावको स्थिति सिर्जना भएपछि संयोजक मिश्र आत्तिएर बधाई तथा शुभकामना दिँदै कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए । कार्यकर्ताहरू नाराजुलुस गर्न थालेपछि संयोजक मिश्र निकै आक्रोशित देखिन्थे । 


पार्टीका प्रवक्ता सूर्यराज आचार्यले कार्यकर्तालाई सम्झाउन र बुझाउन खोज्दा उनीहरूहरूले उल्टै आचार्यविरुद्ध ‘युवा अघि बढ्छ, देश अघि सर्छ’ भन्ने  नारा लगाएका थिए । त्यसपछि केही युवाहरू दगुर्दै एकठाउँमा हुलमूल गर्न पुगे । हुलमा युवापुस्ता र वयस्कबीच मतभेदका कुराले झन्डै हात हालाहालको स्थिति निम्तियो । त्यसपछि केही सुरक्षाकर्मी सभाहलभित्र छिरे । कार्यकताहरू तितरवितर हुनका साथै कार्यक्रम स्थगित हुन पुग्यो  । 


 

विवेकशील साझा पार्टी रवीन्द्र मिश्र नेता तथा कार्यकर्ता सूर्यराज आचार्य

विशेष