डाक्टरको लापरबाहीबाट चिकित्सा छात्रको मृत्यु
युनिभर्सल मेडिकल कलेज भैरहवामा तनाव
भैरहवा । युनिभर्सल मेडिकल कलेज भैरहवामा बिडिएस चौथौ वर्षमा अध्ययनरत विद्यार्थी महादेव साहको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाइएको छ ।
मृतक साह जनकपुरबाट बिडिएस पढ्न युनिभर्सल मेडिकल कलेज भैरहवामा आएका थिए ।
मृतक साहको मलद्वारको किनारमा पिलो आएको थियो । उक्त पिलोको सम्बन्धमा सोही मेडिकल कलेजमा उपचार गराई औषधोपचार गराउँदै आएकोमा शनिबार अचानक हातखुट्टा शून्य भएर चल्न छाडेपछि साँझ करिब ५ बजेको समयमा उपचार गराउनका लागि उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
साहका आफन्तका अनुसार इमर्जेन्सीमा रातको समयमा प्रायः डाक्टर नभई चिकित्सा विद्यार्थीहरू मात्रै बन्छन् । त्यस समय साहलाई राम्रोसँग जाँच गरिएन । स्थिति गम्भीर भएपछि आइसियुमा लगियो ।
साहका साथीभाई र आफन्तका अनुसार त्यहाँ पनि साहको उपचारमा लापरबाही गरियो जसको आइतबार बिहान करिब ६ बजे उनलाई मृत्यु हुनु पुग्यो ।
साहको मृत्युपछि मेडिकलका विद्यार्थीहरूले मेडिकल प्रशासनविरुद्ध नाराबाजी गर्दै आन्दोलन गरेका थिए । आक्रोशित विद्यार्थीहरूले मेडिकल भवनका केही सिसाहरू फुटालेका छन् । पत्रकारहरू र मानवअधिकारकर्मीलाई समेत फोटो खिच्न दिइएन । विद्यार्थीको आन्दोलन तितरवितर गर्न प्रहरीले अस्पताल परिसरमा लाठीचार्ज पनि गरेका थिए ।
घटनाको वास्तविकता जान्न नेपाल आजले मेडिकल कलेजका प्रशासन संयोजक तेजकुमार केसीसँग सम्पर्क राख्दा उनले भने, ‘अस्पताल वा डाक्टरको लापरबाहीको कारण साहको मृत्यु भएको होइन ।
साहलाई एक हप्ता अगाडिदेखि पिलोले च्यापेको र उनलाई शनिबार १० बजे राती आइसियुमा सिफ्ट गरी चारजना डाक्टरको निगरानीमा उपचार थालिएको र साहलाई उपचार गर्न ल्याउन उनका आफन्तले ढिला गरेका कारण उपचारको क्रममा साहको मृत्यु हुन पुगेको हो । यसमा डाक्टर वा प्रशासनको दोष देखिँदैन् ।’
युनिभर्सल मेडिकल कलेज भैरहवा