कभर स्टोरी भिडियो राजनीति

विवेकशील साझाको दाबी ‘एक वर्षभित्र केन्द्रीय राजनीतिमा चर्चाको पार्टी’ (भिडियोसहित)

विवेकशील साझाको दाबी ‘एक वर्षभित्र केन्द्रीय राजनीतिमा चर्चाको पार्टी’ (भिडियोसहित)

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएका छन् । विवेकशील र साझा दुई पार्टी एकीकरण भएपछि उक्त पार्टीको यो पहिलो वार्षिक उत्सव हो । 


ललितपुरको बखुन्डोलस्थित पार्टीको केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजना गरिएको कार्यक्रममा परम्परागत शैलीभन्दा पृथक् रूपमा आयोजित कार्यक्रममा सञ्चारकर्मी तथा वुद्धिजीविहरूलाई आमन्त्रण गरिएको थियो । 


कार्यक्रममा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी एकीकरण भए यता पार्टीको अवस्थितिका सम्बन्धमा संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए । 


सञ्चारकर्मी तथा वुद्धिजीविहरूको प्रश्नहरूको उत्तर दिँदै संयोजक मिश्रले भने, ‘हाम्रो पार्टी एक वर्षभित्र देशको धेरै ठाउँमा अर्थात् गाउँगाउँमा पुगिसकेको छ । एक वर्षभित्र पार्टी कसरी विस्तार गर्ने भनी खाका बनाइसकेका छौं । विवेकशील पार्टीको केन्द्रीय कार्यालय आफैमा एउटा न्युज स्टोरी हो । किनभने यो पार्टी कार्यालय प्रवेश गर्ने प्रत्येक नेपालीले अपनत्व महसुस गर्न सकोस् भन्नाका लागि राम्रो डिजाइन गरेका छौं । यस्तो पार्टी कार्यालय अन्य कुनै पार्टीको हुन सक्दैन् ।’




उनले आफ्नो पार्टी कार्यालयमा समग्र नेपालको भौगोलिक अवस्थितिअनुसार हिमाल, पहाड र तराईको झझल्को आउने गरी सजाइएको जानकारी दिए । 


मिश्रको दाबी छ, ‘जसले पार्टी कार्यालय बनाउन जान्दैन, त्यसले देश पनि बनाउन जान्दैन त्यसकारण भोलि हाम्रो पार्टी सरकारमा जाने स्थिति आयो भने देश कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुरा यो पार्टी कार्यालयको संरचनाले प्रतिविम्बित गर्दछ ।’


संयोजक मिश्रले पार्टीले रचनात्मक, सिर्जनात्मक एवं राजनीतिक अभियान सञ्चालन गरेको चर्चा गर्दै भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आउँदा आफ्नै पार्टी कार्यालयभित्र ‘मोदीजी तपाईंलाई स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ’ भनेर विरोधमा तुल झुन्ड्याउँदा त्यसबेला के के भयो ? तपाईंहरू सबैलाई थाह छ ।’


उनले गोविन्द केसी, लोकमान सिंह प्रकरणमा आफ्नो पार्टीको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेकाले निश्चितरूपमा एक वर्षको राजनीतिक यात्रा सहज थियो भनी हामी भन्दैनौँ भन्ने टिप्पणी पनि गरे । यसैगरी संयोजक मिश्रले आफ्नो पार्टीको वार्षिकोत्सवको अवसरमा नेपाल आजकी अर्कना खातुनसँग विशेष कुराकानी गर्दै नेपालको केन्द्रीय राजनीतिमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीको मात्रै चर्चा हुने वातावरणको निर्माण गरेको दाबी गरे । 


मिश्रले भने, ‘प्रदेश नं. ३ मा हाम्रा तीन सांसद भए पनि केन्द्रीय संसद्मा हाम्रो उपस्थिति नभए पनि हामी राष्ट्रिय राजनीतिको मूलधारमा आइसक्यौँ । यो एक वर्षको हाम्रो उपलब्धि हो । यसैमा हामी सन्तुष्ट भएर बस्न सक्दैनौँ । हामीलाई देशभरमा संगठन विस्तार गर्नुछ । त्यसमा हामी आक्रामक रूपमा अगाडि बढने छौं ।’
          
 

विवेकशील साझा पार्टी रवीन्द्र मिश्र

विशेष