News मुख्य समाचार

कांग्रेस नेता पङ्गेनीको निधन

कांग्रेस नेता पङ्गेनीको निधन

काठमाडौं । नेपाली कांग्रेसका स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको आइतबार बिहान हृदयाघातका कारण भएको छ । 


सो पार्टीका सभापति शेरबहादुर देउवाले शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट कांग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताएका छन् । पूर्वप्रधानमन्त्री देउवाले नेता पङ्गेनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

 

पङ्गेनीको अन्त्येष्टि आइतबारै गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत नेता स्याङ्जा जाने भएका छन् ।  

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय पङ्गेनीप्रति सम्मान प्रकट गर्न कांग्रेसले यही साउन २१ गते केन्द्र र ७७ वटै जिल्ला कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै पार्टीले पार्टी स्याङ्जा जिल्ला कार्यालय तीन दिन बन्द गर्नाका साथै पार्टीको झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३ औँ दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको सचिव शर्माले जानकारी दिए । 

 

०१९ जेठ १९ गते स्याङ्जाको भीरकोट नगरपालिका– ६ मा जन्मेका पङ्गेनी ०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा– २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।
 

कांग्रेस नेता पङ्गेनीको निधन

विशेष