News मुख्य समाचार

३ करोड भ्रष्टाचारविरुद्ध मुद्दा दायर

३ करोड भ्रष्टाचारविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले  तीन करोड ९८ लाख ३६ हजार ९ सय ८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ । अधिकृत ढकालले अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको सरकारी कोषको रकम आफैँले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यको नाममा घरजग्गा खरीद गरेको पाइएको आयोगले अभियोग लगाएको छ । आयोगले बिगोबमोजिमको रकम असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ । 

 

यस्तै आयोगले माई नगरपालिका इलाममा कार्यरत तत्कालीन लेखा अधिकृत ढकाल सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले इलाममा रहँदासमेत कटारी नगरपालिमामा जस्तै दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । 

 

यस्तै प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरूले रकम जम्मा गर्न बैंकलाई पठाइएको पत्र र कार्यालयमा रहने पत्रमा विवरण फरक फरक बनाउने, मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । सरकारी कोषको रकम दुरुपयोग गरी आफ्ना आफन्तको नाममा जम्मा पारेको, घरजग्गा जोडेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष