सुत्केरी भैँसीलाई तीन हजार भत्ता !

काठमाडौं । सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्तास्वरूप तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ । किसानहरूले पाल्दै आएका सुत्केरी भैँसीको स्याहार–सुसार, खानपिन र आहार–विहारमा ध्यान दिन सो रकम दिइएको हो ।
सुनापति गाउँपालिकाका पशुपालक सातजनालाई तीन हजारका दरले २१ हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराएको सुनापति गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख प्रभु चौधरीले जानकारी दिए । उनले भने, ‘गत आर्थिक वर्षबाट सुरुवात गरेको अभियानमा गाउँपालिकाबाट सुत्केरी भत्ताका लागि निकालिएको सूचनाका आधारमा सातजना किसानलाई वितरण गरिएको छ ।’ सो कार्यक्रम आर्थिक वर्ष ०७५/०७६ मा पनि राखिएको उनले बताए ।
गाउँपालिकाले व्यावसायिक पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने र दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले आगामी वर्षहरूमा समेत यस कार्यक्रमलाई निरन्तरता दिई थप किसानलाई अनुदानको रकम दिने व्यवस्था मिलाइने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिए । – नयाँ पत्रिकाबाट