काँडाघारीबाट अपहृत बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुई मारिए
काठमाडौं । काँडाघारीबाट आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्काको हत्या भएको छ ।
निशानको खोजीमा खटिएको प्रहरीले उनको शव सोमबार भक्तपुरको डोलेश्वरमा फेला पारेको छ । अपहरणकारीले बालकका अभिभावकसँग ४०लाख रुपैयाँ फिरौती मागेका थिए ।
अपहरणकारीको खोजी गर्न गएको प्रहरी टोली र अपहरणकारीबीच दोहोरो मुठभेड हुँदा दुई मारिएका छन् । मारिनेमा गोपाल तामाङ र अजय तामाङ छन् । दुवै बालक अपहरणमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार अहपरणकारी डोलेश्वरमा लुकेर बसेको सूचना आएपछि प्रहरी पछ्याउँदै गएको थियो । सो क्रममा दुई पक्षबीचको मुठभेडमा दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ ।
इन्काउन्टर स्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद गरेको छ ।
अपहरणमा परेका बालक निशान काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे ।