राष्ट्रिय प्राणी उद्यानकाे गुरूयाेजना बन्याे
काठमाडाैं । भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन अन्तर्रा्ष्ट्रियस्तरको ‘राष्ट्रिय प्राणी उद्यान’ पाँच वर्षभित्र सम्पन्न हुने भएको छ । सर्वसाधारणलाई घुम्न तथा मनोरञ्जनका लागि सो उद्यान बनाउन लागिएको उक्त उद्यान पाँच अरब लागतमा बन्ने जनाइएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको लक्षित कार्यक्रमअनुसार गुरुयोजनालाई अन्तिम रुप दिएको उपमहानिर्देशक रामचन्द्र कँडेलले बताए ।गत असारमा तयार भएको गुरुयोजनाको मस्यौदालाई विभागले स्थानीय तहका जनप्रतिनिधि, सङ्घ र प्रदेशसभाका सदस्य, सामुदायिक वनका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ र स्थानीय समुदायलगायत सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल गरिसकेको छ ।
सो मस्यौदा स्वीकृतिका लागि विभागमार्फत मन्त्रालयमा पेश हुने क्रममा रहेको उनले जानकारी दिए । कँडेलका अनुसार गुरुयोजना निर्माणसँगै उद्यानको मुख्य कार्यालय भवनपनि यसै आर्थिक वर्षभित्र तयार हुने र त्यसपछि फिल्ड कार्यालय निर्माण हुने बताए । वन्यजन्तु हेर्न सुरक्षित टावर तयार गरिने छ । विसं २०७१ माघ २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडाँै उपत्यकाभित्र प्राणी उद्यान स्थापना गर्न सूर्य्विनायक आसपासका सात सामुदायिक वनअन्तर्गतको २४५ हेक्टर वनक्षेत्र निर्धारण गरी काम शुरु भएको हो । हाल १० हेक्टर क्षेत्रफल थपिएको छ । भक्तपुरका सेतीदेवी, सूर्य्विनायक, लिखानारायण, बालकुमारी, सञ्जीवनी, मन्थली र गौरादेवी सामुदायिक वनअन्तर्गतको उक्त क्षेत्रफलमा उद्यान स्थापना गर्न सीमाङ्कन निर्धारण गर्ने काम सम्पन्न भइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७३ असार ९ गते सूर्य्विनायकमा उक्त प्राणी उद्यानको शिलान्यास गरेका थिए । उद्यानलाई वन्यजन्तु उद्धार केन्द्रका रुपमा विकास गर्न सोहीअनुसारका पूर्वाधार निर्माणसमेत भइरहेको उपमहानिर्देशक कँडेलले बताए । विभागले उद्यानको वरिपरि सिमाना छुट्याएर तारबार गरिसकेको छ । जम्मा १६ किमीको बार लगाउनुपर्नेमा १३ किमी सम्पन्न भइसकेको छ । बाँकी तीन किमी क्षेत्र मानवबस्ती अतिक्रमणमा परेकाले केही चुनौती देखिएको जनाइएको छ । सो क्षेत्रमा सरकारले पूर्वाधार निर्माण गरी बसिसकेका स्थानीयलाई केही राहत दिएर निकास दिनुपर्ने देखिन्छ ।
उद्यानलाई अन्तर्रा्ष्ट्रियस्तरको बहुआयामिक बनाउने तयारी छ । उद्यान धार्मिक, प्राकृतिक, मनोरञ्जन, अनुसन्धान तथा अध्ययनका लागि उपयुक्त केन्द्र हुने बताइएको छ । त्यसैगरी स्थापना पश्चात ललितपुरको सदर चिडियाखानामा नअटेका ठूला बन्यजन्तुलाई ‘राष्ट्रिय प्राणी उद्यान’ मा सारिने योजना रहेको छ ।