मन्त्रालयको वेबसाइटमा कर्मचारीहरूको भ्रमणको विवरण भेटिएन
काठमाडौं । ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण प्रत्येक मन्त्रालयले वेबसाइटमा राखिनुपर्ने हो तर वेबसाइटमा भेटिएको छैन् ।
सरकारले विसं २०७२ सालमा प्रथम पटक कर्मचारीको भ्रमणको विवरण वेबसाइटमा राख्ने निर्देशिका ल्याएको थियो । पछि संशोधन गरेर नयाँ निर्दे्शिका ल्याइएको कानूनी व्यवस्था भएता पनि कार्यान्वयनमा आउन सकेको छैन् ।
‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा आआफ्नो मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने भए पनि अहिलेसम्म कुनै मन्त्रालयले वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम राखेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले निर्दे्शिकानुसार वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम नराख्ने मन्त्रालयको अनुगमन गरिने बताए । उनले निर्देशिकामा भएका कुरालाई कडाइका साथ लागू गरिने समेत बताए । निर्दे्शिकामा कर्मचारीका नाम, पद, जाने देश, गएको मिति आदि विवरण खुलाई वेबसाइटमा राख्नुपर्नेछ ।
मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णु घिमिरेले सबै मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको नाम राख्ने निर्देशन दिएको बताए । उनले अहिलेसम्म गत आवमा करीब पाँच हजार कर्मचारी वैदेशिक भ्रमणमा गएको तथ्याङ्क आएको जानकारी दिए । “अझ धेरै गएको हुनसक्छन् । हामीले तथ्याङ्क सङ्कलन गर्दैछौँ”, उनले भने, “यो संख्या अझ बढ्न सक्छ ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वैशाखयता १२ कर्मचारी वैदेशिक भ्रमणमा गएको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले मङ्गलबार मात्र ती कर्मचारीको विवरण वेबसाइटमा राखेको हो ।