News

नातिनीले जोड गरेपछि बैंककमा पूर्वराजा 

नातिनीले जोड गरेपछि बैंककमा पूर्वराजा 

काठमाडौं । नातिनीको आग्रहलाई इन्कार गर्न नसकेपछि पूर्व श्री ५ ज्ञानेन्द्र बैंकक जान बाध्य भएका छन् । कान्छी नातिनी कृतिकाको विद्यालय भर्नाका लागि उनी बैंकक गएका हुन् ।

 

 प्राप्त जानकारी अनुसार स्कुल पढ्दै गरेकी कृतिकालाई बैंकक पढाउने निधो भएपछि आमा हिमानी मात्रै भर्नाका लागि जाने कार्यक्रम तय भएको थियो । तर, कृतिकाले आफ्ना हजुरबुबा पूर्वराजा ज्ञानेन्द्रसँग ‘ए दिज्यु(पूर्णिमा)लाई पुर्‍याउन जाने अनि मलाई चाहिँ नजाने’ भनेर जिद्वी गरेपछि उनी जान तयार भएका हुन् ।

 

 लिङ्कन स्कुलमा ७ कक्षामा पढ्दै गरेकी कृतिकालाई यसैवर्षदेखि बैंककको विद्यालयमा भर्ना गरिएको छ । जेठी नातिनी पूर्णिका बैंककमा कलज पढिरहेकी छिन् । गत साउन १६ गते गएका श्री ५ पूर्वसहित राजपरिवार आगामी भदौ १ गते फर्कने कार्यक्रम तय रहेको छ । 

 

राजाका साथमा पूर्वबडामहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी लगायतको पारिवारिक टिम रहेको छ । दुवै नातिनीहरू बैंकक पढ्न थालेपछि अब साथमा पूर्वनवयुवराज हृदयेन्द्र रहेका छन् । लिंकन स्कुलमा दश कक्षामा अध्ययनरत हृदयेन्द्र यसै वर्ष एसईई परिक्षा दिँदै छन् ।

 

 एसईईपछि उनको विश्वविद्यालय अध्ययन पनि बैंककमै हुने बुझिएको छ । बाबु पारसबाहेक परिवारका सबै सदस्य अहिले बैंककमा छन् । ज्ञातव्य छ, पारसलाई थाइल्यान्डले प्रवेशमा रोक लगाएको छ । 

 

यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार मुमा बडामहारानी रत्नको ९० औं जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको छ । नारायणहिटी राजदरबार महेन्द्र मञ्जिलमा रहेका मुमा बडामहारानी रत्नको जन्मोत्सव नारायणहिटीमै मनाइनेछ । भदौ ४ गते मनाइने जन्मोत्सवमा राजपरिवारका नातेदार तथा आफन्तहरूलाई बोलाइने बताइएको छ । शुभजन्मोत्सवको अवसरमा आयोजना गरिने‘रिसेस्सन’ का लागि सोल्टी होटेलबाट खानेकुराको व्यवस्था गर्न लागिएको छ । 
घटना र विचार साप्ताहिकबाट 
 

विशेष