News समाज देश

सिक्टा सिँचाइ आयोजनामा बेथिति: आयोजना निर्देशक बन्न तँछाडमछाड

सिक्टा सिँचाइ आयोजनामा बेथिति: आयोजना निर्देशक बन्न तँछाडमछाड

बाँके । सिक्टा सिँचाइ आयोजनामा दुई वर्षअघि निर्देशक (प्रमुख) भएर काम गरिसकेका रमेश बस्नेत पुनः सोही जिम्मेवारीमा छन् । उनले विगत चार महिनादेखि नयाँ जिम्मेवारी पाएका हुन्।

 

तत्कालीन सिँचाइ मन्त्री दीपक गिरीको पालामा आयोजना निर्देशक रहेका उनी सरकार फेरिएपछि संकटमा परे । विभागीय मन्त्रालयको जिम्मा पाएका तत्कालीन सिँचाइ मन्त्री सञ्जय गौतमले बस्नेतको सरुवा गराएर उनको ठाउँमा महेश्वरनरसिंह केसीलाई ल्याए । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि निर्देशक केसी संकटमा परे । उनी त झन् छोटो समयमै निर्देशकबाट जिम्मेवारीविहीन बन्न पुगे।

 

केसीलाई हालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले रुचाएनन् । मन्त्री पुनले सिक्टामा आफ्नो अनुकूल काम गर्न बस्नेतलाई आयोजना निर्देशक पदमा पुनरागमन गराए । आयोजनामा दोस्रोपटक आएका बस्नेतले मन्त्री पुनको अनुकूल काम गरिरहेको स्रोत बताउँछ । आफू आएपछि आयोजनाका पश्चिम मूल नहरअन्तर्गतका केही शाखा नहर निर्माणका लागि ठेक्का प्रक्रियाको काम टुंग्याएको उनी बताउँछन् ।

 

‘ठेक्का सम्झौता प्रक्रियामा मन्त्रीले आफैं काम गर्न चाहन्छन्,’ उनले नागरिकसँग केही समयअघि भनेका थिए, ‘मन्त्रीको कुरा नमान्ने आयोजना निर्देशक यहाँ टिक्न सक्दैन, मन्त्रीले भनेको नमान्नेलाई तुरुन्त सरुवा गरिन्छ, म स्वयं भुक्तभोगी हुँ ।’ सिक्टा आयोजनालाई विभागीय मन्त्रीले कतिसम्म आफ्नो पकडमा पार्न खोज्छन् भन्ने कुरा बस्नेतको भनाइबाट पुष्टि हुन्छ।

 

तत्कालीन सिँचाइ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०६३ सालतिर बाँकेको अगैयामा शिलान्यास गरेको सिक्टामा त्यसयता फेरबदल भएका सरकारका विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक राख्दै आएका छन् । तत्कालीन समयमा सुरुको चरणमा आयोजना निर्देशकका रुपमा कृष्णराज तिमिल्सिनाले जिम्मेवारी पाएका थिए । त्यसपछि आएका विभागीय मन्त्रीले तिमिल्सिनालाई हटाए ।- नागरिक दैनिकबाट । 

सिँचाइ आयोजना

विशेष