ऐंसेलुबाट आम्दानी
तेह्रथुम । जंगली काँडादार फल ऐंसेलु बिक्री गरेर गाउँका कृषकले एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । दुई महिनाको अवधिमा स्थानीयले जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई बिक्री गरेर उक्त आम्दानी गरेका हुन्।
संखुवासभाको तामाफोक नौ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐंसेलु बिक्री गरेर गाउँमै करोडौं भित्र्याउने माध्यम बनेको छ । कम्पनीले वाइन् बनाउने कच्चा पदार्थको रुपमा प्रयोग गर्न ऐंसेलु खरिद गरेपछि स्थानीय लाभान्वित भएका हुन् । लालिगुराँस नगरपालिका सुङनामका कृषक पुन्य तिम्सिनाले ऐंसेलु बिक्रीबाट दुई लाख रुपैयाँ बढी आम्दानी गरेको बताए ।
यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, वसन्तपुर, फुलेक, दागपा, काटेलागायतका बासिन्दाले ऐंसेलु बिक्री गरेर ५० लाख रुपैयाँभन्दा बढी भित्र्याएका छन् । उद्योगका सञ्चालक सुजन श्रेष्ठका अनुसार गत वैशाखको दोस्रो साताबाट जंगलमा फलेको ऐंसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदीम, हमरजुङ, फुलेक लगायतका बासिन्दाले ४० लाख रुपैयाँभन्दा बढी गाउँमा भित्र्याएका छन् । ऐंसेलुबाट उद्योगले ‘हिंवा’ ब्रान्डको वाइन उत्पादन गरिरहेको उनले बताए ।
जंगलमा निःशुल्क टिप्न पाइने ऐंसेलु प्रतिकेजी ५० रुपैयाँसम्ममा बिक्री भएपछि किसानले निजी र सामुदायिक वनमा ऐंसेलुको व्यावसायिक खेतीसमेत सुरु गरेका छन् । ऐंसेलुबाट किसानले राम्रो आम्दानी गर्न थालेपछि वन कार्यालयले समेत सामुदायिक वनमार्फत ऐंसेलुखेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका सहायक वन अधिकृत ललन यादवले बताए -नागरिक दैनिकबाट ।
संखुवासभा ऐंसेलु एक करोड रुपैयाँ