छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाको लागि छुट्याउने कानूनी व्यवस्था गरिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकको लागि छोराछोरीको कमाइको निश्चित प्र्रतिशत छ्ट्याउनुपर्ने कानूनी व्यवस्था गरिने बताएका छन् । यसका साथै उनले जेष्ठ नागरिक अनुभवका सागर भएको पनि बताएका छन् ।
जेष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले भोलिका दिनमा कोही पनि जेष्ठ नागरिक अपहेलित हुन नपरोस् भनेर छोराछोरीको कमाइको निश्चित भाग आमाबाबुको लागि छुट्याउनुपर्ने कानूनी व्यवस्था गरिने बताएका हुन् । जीवनका विभिन्न उतारचढाव पार गर्दै सिकेका ज्ञान, सिप र अनुभव संगालेका जेष्ठ नागरिकको कदर गर्न नसक्ने समाज सभ्य नहुुने बताउँदै उनले जेष्ठ नागरिकको हक हितका लागि सरकारको प्र्रयास जारी रहेकोबारे प्रधानमन्त्रीले जानकार गराए ।
आज सोमबार संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष जेष्ठ नागरिक अभियान्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ जेष्ठ नागरिक दिवस मनाइँदैछ ।
समाजको बद्लिदों परिवेश, वैदेशिक रोजगार र पारिवारिक संरचनाका कारण घरघरमा जेष्ठ नागरिकको एक्लिने अवस्थाप्रति प्रधानमन्त्रीले गुनासो व्यक्त गर्दै उनले भने, ‘कतिपय अवस्थामा जेष्ठ नागरिकले आफन्तबाट अवहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार जेष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’
जेष्ठ नागरिकका समस्यालाई मध्यनजर गर्दै उनीहरूको दैनिकीलाई सहज बनाउन यसै आर्थिक वर्षदेखि जेष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरे ।
यसका साथै जेष्ठ नागरिकको सुरक्षाका लागि कानूनी प्रावधानको व्यवस्था गर्न जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढेको जानकारी प्रधानमन्त्रीले सन्देशमार्फत दिएका छन् । उनको शुभकामना सन्देशमा भनिएको छ, ‘जेष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन,सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव छ ।’