विदेश

पूर्वप्रधानमन्त्री जियालाई रिहाइको माग गर्दै हजारौं नागरिकद्वारा प्रदर्शन

पूर्वप्रधानमन्त्री जियालाई रिहाइको माग गर्दै हजारौं नागरिकद्वारा प्रदर्शन

ढाका । बंगलादेशका विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग गर्दै हजारौंले सोमबार प्रदर्शन गरेका छन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियाको रिहाइको मागगर्दै देशभरी प्रदर्शन भएको समाचारमा जनाइएको छ । 

 

 

बङ्लादेशमा तीन पटकसम्म प्रधानमन्त्री भएकी ७३ बर्षीया जिया यसै बर्षको सुरुदेखि काराबासमा छन् । जिया काराबासमा विरामी अवस्थामा भएको उनको दल तथा पारिवारिक स्रोतको दावी छ । 

 

 

एक जना प्रहरी अधिकारीका अनुसार राजधानी ढाकाको मुख्य भागमा रहेको नेशनल प्रेस क्लवको अगाडि प्रमुख विपक्षी दल बङ्लादेश नेशनलिष्ट पार्टी समर्थक झण्डै चार हजार जना सोमबारको प्रदर्शनमा सहभागी भएका थिए । 

 

 

तर विपक्षी दलका प्रवक्ता फक्रुल स्लाम अलाम्गीरले भने ढाकामा भएको प्रदर्शनमा मात्रै झण्डै २० हजार जना सहभागी भएको दावी गरे । प्रदर्शनमा सहभागीहरुले जियालाई अवैध तरिकाले जेल हालिएकोले तत्काल रिहा गर्न माग गर्दै नारा लगाएका थिए । 

 

 

देशभरका प्राय सवै सहरहरुमा अरु हजारौले यस्तै प्रदर्शन गरेको समाचारमा जनाएको छ । पूर्व प्रधानमन्त्री जियालाई गत हप्ता ह्विल चियरमा राखेर अदालत लगिएको थियो । त्यहाँ उनले आफू एकदमै विरामी भएको र आफ्ना हात खुट्टाले काम गर्न नसकेको बताएका थिए ।  

 

 

बच्चाहरुका लागि विश्वभरबाट सङ्कलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले जियाका चार सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो । 

बंगलादेश प्रदर्शन पूर्व प्रधानमन्त्री खालिदा जिया

विशेष