News

पशुपतिमा फोहोर फाल्न खोज्ने गाडी चालकलाई कारवाही

पशुपतिमा फोहोर फाल्न खोज्ने गाडी चालकलाई कारवाही

काठमाडौं । रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहोर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् । 

 

आइतबार राति तिलगङगा-गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए । चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए । 

 

सवारी चालकलाई काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयले आगामी दिनमा पशुपति क्षेत्रमा फोहर नफाल्ने शर्तमा रु पाँच हजार जरिवाना गरी छोडिदिएको वडा अध्यक्ष दीनेश डङ्गोलले राससलाई जानकारी दिए । चालकले बबरमहलबाट फोहर लगी पशुपति जङ्गलमा फाल्न खोजेका थिए । 

 

ऐतिहासिक पशुपति जङ्गलको बीचबाट तिलगङ्गा-गुह्येश्वरी मार्ग खुलेपछि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदाबाट हटाउने चेतावनी दिइसकेको छ । 

पशुपति फोहोर

विशेष