शेयर

शेयर बजारः याे सातामा एक अर्ब पनि पुगेन कारोबार

शेयर बजारः याे सातामा एक अर्ब पनि पुगेन कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता ८० करोड ३० लाख रुपैयाँ सात हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल २५ लाख ४२ हजार ७१० कित्ता शेयर खरिद बिक्री भएका छन् । 

 

कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ८१ प्रतिशत कम हो । कारोबारका आधारमा हेर्दा यस साता पनि रु एक अर्ब बराबरको पनि कारोबार हुन सकेन । 

 

गत साता १८५ कम्पनीको ४४ लाख २१ हजार ९५० कित्ता शेयर रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरका खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलब ९७ अङ्कले बढेर अन्तिम दिन एक हजार १८१ दशमलब ६९ अङ्कमा पुगेको छ । 

 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ३७ अङ्कले बढेर २४९ दशमलब ७९ अङ्कमा आइपुगेको छ । 

 

यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । सो बैंकको सात करोड ३९ लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । 

 

कारोबार भएको शेयर सङ्ख्याको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ३२ हजार कित्ता शेयर खरिद बिक्री भएको थियो । 

 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

नेपाल स्टक एक्सचेन्ज शेयर कारोबार

विशेष