News

दुर्लभ सर्प कालीनाग भएको पुष्टि

दुर्लभ सर्प कालीनाग भएको पुष्टि

पर्वत । पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ । कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो ।

 

 
संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको छ । 

 

उक्त सर्पलाई पोखराबाट आएका तीन प्राविधिक कातिला, रोशन गिरी र रवीन्द्र विश्वकर्मा तथा डिभिजन वन कार्यालय पर्वतबाट खटिनुभएका चूडामणि बराल, गोविन्द पौडेल र ईश्वर पुरीले कालीनाग भएको पुष्टि गरेका थिए । 

 

 

जिल्लामै पहिलो पटक यति ठूलो सर्प अहिलेसम्म देखिएको थिएन । उक्त सर्पलाई प्राविधिकले उपयुक्त बासस्थानमा छाडिएको बताएका छन् । शनिबार बस्ती नजीकैको बारीमा देखिएको उक्त सर्प आइतबार बिहान स्थानीयवासी चक्रपाणि सुवेदीको घरको कोठामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

 

 

यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा शनिबार अपराह्न ३ बजे स्थानीयवासीले बारीमा देखेका थिए । यस क्षेत्रमा पाइने अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर त्यसले खाएको थियो । 

 

 

तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक कातिलाले बताए । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको क्षेत्रमा ठूलो प्रजातिको सर्प घरभित्रै पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । 
 

पर्वत दुर्लभ वन्यजन्तु किङ कोब्रा कुश्मा नगरपालिका

विशेष