News

ज्याठा सिलिण्डर पड्किएर आगलागी हुँदा ७ जना घाइते

ज्याठा सिलिण्डर पड्किएर आगलागी हुँदा ७ जना घाइते

काठमाडौं । स्थानीय ज्याठामा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन् । मंगलबार बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो । 

 

 

ज्याठाका स्थानीयवासी सुमन स्थापितको भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर थिए । तीमध्ये आगलागीका क्रममा २५ वटा सिलिण्डर पड्किएका थिए । 

 

 

सो घटनाका घाइतेमध्ये सुमन स्थापितसहित अन्य चारजनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् । 

 

 

घाइते हुनेमा घरधनी स्थापित विस्फोटमा परेका हुन् भने बाँकी झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएका हुन् । विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्किएको छ । आगलागीबाट छिमेकी कल्पना तुलाधरको घरमा बढी क्षति पुगेको छ भने चोकआसपासका अन्य घरहरुका पर्खाल र ढोका चर्किएका छन् । 

 

 

उक्त घटनाबाट घाइते भएकालाई भेट्न पुग्नुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घाइतेलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

वडा नं २७ र आसपास वडा समितिका अध्यक्ष, वडा सदस्य तथा महानगरको विपद् व्यवस्थापन विभागका अधिकारीसहित प्रमुख शाक्या घटनास्थल पुगेका थिए। आगलागीबाट करीब १० लाख रुपैयाँ को क्षति भएको अनुमान गरिएको छ । 

विद्यासुन्दर शाक्य ज्याठा सिलिण्डर पड्किएर आगलागी

विशेष