News

मनमनै राेएका जोशीले खुसीका साथ गरे प्रधानन्यायाधीश मिश्रलार्इ स्वागत

मनमनै राेएका जोशीले खुसीका साथ गरे प्रधानन्यायाधीश मिश्रलार्इ स्वागत

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । सोमबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै उनी प्रधानन्यायाधीश नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएपछि सोमबारै साँझ पौने ७ बजे उनले पदबहाली गरेका छन् ।

 

शीतलनिवासमा शपथ खाएपछि पदबहाली गर्न सर्वोच्च पुग्दा मिश्रलाई स्वागत गर्नेको पहिलो पंक्तिमा दीपकराज जोशी थिए । जोशी उनै न्यायाधीश हुन् जसलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरिदिएको थियो । जोशीलाई अस्वीकार गरेपछि नै मिश्र प्रधानन्यायाधीश बन्ने बाटो खुलेको थियो ।


नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न बसेका जोशी गम्भीर मुद्रामा देखिन्थे । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी २० साउनपछि सोमबार नै पहिलोपटक सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।

 

न्यायाधीश जोशीले मिश्रको गलामा माला लगाइदिए । हात फैलाएर अंकमाल गर्दै भने, ‘श्रीमान् बधाई छ ।’ जोशी मिश्रको कार्यकक्षसम्मै पनि पुगे । पत्रकार सम्मेलनभर मिश्रको देब्रेपट्टि बसिरहे । आधा घन्टाको पत्रकार सम्मेलनपछि दुईजना छुट्टिए ।


मिश्र यसरी भए प्रधानन्यायाधीश, चार महिना कार्यकाल
१८ साउनमा संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि दीपकराज जोशीलाई अस्वीकृत गरेपछि ओमप्रकाश मिश्रको भाग्य खुल्यो । संवैधानिक परिषद्ले जोशीसँगै मिश्र र चोलेन्द्रशमशेर राणाको नाम पनि सिफारिस गरेको थियो ।

 

जोशी अस्वीकृत भएपछि वरिष्ठताका आधारमा ७ भदौमा मिश्रको नाम प्रस्ताव ग-यो । उनी सुनुवाइ समितिबाट पनि स्वीकृत भई प्रधानन्यायाधीश नियुक्त भए । ६५ वर्ष उमेर हदका कारण मिश्र १८ पुस ०७५ सम्म अर्थात् चार महिना मात्रै प्रधानन्यायाधीश पदमा रहनेछन् ।

 

उनी सर्वोच्च अदालतको न्यायाधीश हुनुपूर्व पुनरावेदन अदालतका मुख्य न्यायाधीश थिए । मिश्रले कानुन मन्त्रालयका शाखा अधिकृतबाट १० कात्तिक ०३८ बाट सेवा सुरु गरेका थिए ।


अदालतको बिचौलिया रोक्न तयार छु : मिश्र
प्रधानन्यायाधीश मिश्रले अदालतमा हुने बिचौलिया रोक्न आफू तयार रहेको बताएका छन् । आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘बिचौलिया को हो, मलाई देखाइदिनुस्, रोक्नका लागि मलाई सहयोग गर्नुस्, म रोक्न तयार छु,’ उनले भने, ‘कहीँ भए देखाएर सहयोग गर्नुस् ।’


उनले विगतका कुरा छाडेर नयाँ कुरा गर्न न्यायाधीशहरूलाई निर्देशन दिए । उनले न्यायाधीश दीपकराज जोशी र आफूबीच कुनै पनि बेमेल नभएको बताए । ‘है श्रीमान् ? हाम्रो कुनै बेमेल नै छैन,’ आडैमा बसेका न्यायाधीश जोशीसँग सही मागे ।


मुद्दा नै छैन भने फास्ट ट्र्याक अदालत बनाएर के गर्ने ?
अदालतले महिला हिंसा र बलात्कारको मुद्दा फास्ट ट्र्याकबाट गर्नेबारे अध्ययन गरेर टिम बनाइरहेको उनले सुनाए । ‘मुखले बोल्नासाथ गर्न कहाँ सकिन्छ र ? गर्न गाह्रो हुन्छ । अदालतमा मुद्दा कतिवटा छन्, सबै हेर्नुपर्छ ।

मुद्दा नै छैन भने सबै ठाउँमा फास्ट ट्र्याक अदालत बनाएर के गर्नु,’ प्रधानन्यायाधीश मिश्रले भने, ‘हामीले केस हेरर, आवश्यकता हेरेर मात्रै फास्ट ट्र्याक अदालत बनाउँछौँ ।’


वरिष्ठतम न्यायाधीशको हैसियतमा जोशी आजैबाट अदालत फर्किने
प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि २० साउनपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबारदेखि वरिष्ठतम न्यायाधीशको हैसियतमा सर्वोच्च अदालत फर्किंदै छन् । जोशीका स्वकीय सचिव अभय थापाले भने, ‘उहाँको आधिकारिक मान्छे मै हुँ, उहाँ सर्वोच्च अदालत भोलिबाट फर्कनुहुन्छ ।’


यस्ता छन् प्रधानन्यायाधीश मिश्रका कार्ययोजना
मिश्रले संहिताको कार्यान्वयन सम्बन्धमा दक्षता अभिवृद्धि गर्ने, सबै तहमा कार्यरत कर्मचारी र अदालतका न्यायाधीश तथा न्यायायिक जनशक्ति लक्षित आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताए ।

 

संहिताहरूको कार्यान्वयनमा कुनै बाधा अड्काउ परे तत्काल निकास दिन सर्वोच्च अदालतमा गठन भएको संयन्त्रमार्फत आवश्यक सहजीकरण गर्ने बताए । न्यायपालिकामा हुन सक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यमा शून्यसहनशीलताको नीति अख्तियार गर्दै प्रभावकारी नियन्त्रणको उपाय अवलम्बन गर्ने उनको योजना छ ।

 

न्यायाधीशमाथि परेका उजुरीको शीघ्र छानबिन र कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताएका छन् । न्यायाधीशहरूको सम्पत्ति विवरण नियमित अद्यावधिक गरिने कार्ययोजना प्रस्तुत गरेका छन् । उनले सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

मुद्दामा हुने खर्चको पारदर्शिता तथा अनावश्यक रूपमा मुद्दा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आर्थिक रूपमा विपन्नबाहेक मुद्दा हार्ने पक्षबाट जित्ने पक्षलाई मुद्दामा लागेको खर्च भराइदिने व्यवस्थाको पहल गर्ने बताएका छन् । यस्तै, सर्वोच्च अदालतमा सञ्चारमाध्यमबाट मुद्दाको सुनुवाइको प्रत्यक्ष प्रसारणको सम्भाव्यता र त्यसबाट पर्न सक्ने प्रभाव सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गर्ने कार्ययोजना पनि पेस गरेका छन् । - नयाँ पत्रिका दैनिकबाट ।

ओमप्रकाश मिश्र विद्यादेवी भण्डारी दीपकराज जोशी

विशेष