विदेश

गोली हानाहान हुँदा अफगानिस्तानमा ४ प्रहरीसहित ८७ आतङ्ककारी मारिए

गोली हानाहान हुँदा अफगानिस्तानमा ४ प्रहरीसहित ८७ आतङ्ककारी मारिए

काबुल । अफगानिस्तानको २ वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका छन् । 

 

अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतङ्ककारीविरुद्ध सोमबार मध्यरातमा गरेको कारबाहीमा ५७ आतङ्ककारी मारिनुको साथै १६ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकले जानकारी दिए । 

 

 

कन्दाहारको प्रान्तीय राजधानी कन्दाहारबाट पश्चिमतर्फको एक जिल्लालाई कब्जामा लिने कोसिसमा तालिबानी आतङ्ककारीहरु रहेका थिए । 

 

त्यसैगरी अफगान सुरक्षाफौज र अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धनले अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाहलान इ मार्काजी जिल्लामा तालिबान आतङ्ककारी विरुद्ध चलाएको हवाइ कारबाहीमा ३० जना आतङ्ककारी मारिनुको साथै अन्य १६ जना घाइते भएका सेनाका प्रवक्ता हनिफ रेजाइले बताए ।

 

 

शुक्रबार राति सोही जिल्लामा भएको आतङ्ककारी आक्रमणमा २० जना सैनिकको मृत्यु भएपछि प्रतिशोधको रुपमा यो कारबाही भएको बताइएको छ । 

 

अफगानिस्तानमा आगामी अक्टोबर २० मा संसदीय र जिल्ला परिषद्को निर्वाचनको तयारी भइरहेको अवस्थामा अफगान सुरक्षाफौजले संयुक्त गठबन्धन सेनाको सहयोगमा आतङ्ककारीविरुद्ध भीषण जमिन र हवाई कारबाही शुरु गरेको छ । तालिबान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन । 

काबुल अफगानिस्तान गोली हानाहान ८७ आतङ्ककारी मारिए

विशेष