News

सरकारको समर्थन फिर्ता लिन राजपामा चर्को दबाब

सरकारको समर्थन फिर्ता लिन राजपामा चर्को दबाब

काठमाडौं । राजपामा नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन चर्को दबाब परेको छ। अध्यक्षमण्डलको सोमबार सुरु बैठकमा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प नभएको धारणा राखेका थिए।

 

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकका एजेन्डामा आगामी असोज ३ गते संविधान दिवसलाई ‘कालो दिवस’ मनाउने, वैशाख ७-९ गते हुने पार्टीको पहिलो एकता महाधिवेशन, पार्टी र संसदीय दलको विधान र पार्टीको भावी रणनीतिलगायत छन्। प्रधानमन्त्री केपी ओलीले मधेस मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको ९ महिना पुग्न लाग्दा पनि टुंगो नलागेको, मधेस आन्दोलनका बेला लागेका झुटा मुद्दा फिर्ता नभएको र कैलाली क्षेत्र १ बाट निर्वाचित रेशम चौधरीलाई सांसदको शपथ गराउन चासो नदिएको भन्दै समर्थन फिर्ता लिन नेता यादवले माग गरेका थिए।

 

फागुन ३ गते पदको शपथ लिनुअघि प्रधानमन्त्री ओलीले राजपासँग गरेको तीनबुँंदे सहमति र राजपाले साउन ३ गते बुझाएको सातबुँदे ज्ञापनपत्रको कार्यान्वयन नभएको अनौपचारिक निष्कर्षमा राजपा पुगेको दाबी स्रोतले गरेको छ। प्रधानमन्त्री राजपाका माग पूरा गर्ने प्रतिबद्धता गर्ने तर ठोस निर्णय र निष्कर्षमा नपुर्‍याउनाले कतै उनी प्रधानमन्त्री हुनुअघिका केपी ओली त होइनन् भन्दै नेता यादवले बैठकमा ब्यंग्य गरेको स्रोत बताउँछ। अध्यक्षमण्डलका एक नेताले आफूलाई पार्टी टोक्नु न ओकल्नु भएको बताए।


पाण्डे समितिद्वारा मागमा परामर्श

द्वन्द्वरत पक्षसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको अध्यक्षतामा गठित अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये राजपासँग सोमबार साँंझ करिब दुई घण्टा परामर्श गरेको छ। पाण्डेसहित सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी सदस्य र गृह मन्त्रालयका सहसचिव कुमार खड्काको समितिले राजपासँग मधेस आन्दोलन र पार्टीका मागबारे जानकारी लियो।

 

समितिले मधेसका भूमिगत, अर्धभूमिगतलगायत संघ-संगठन र पार्टीको अवस्था र गतिविधिबारे जिज्ञासा राखेको थियो। राजपा अध्यक्ष ठाकुरले संसद्वादी दलहरूको माग पूरा नगर्ने सरकारको अडानबाट जन्मेका त्यस्ता समूह निस्तेज गर्न संसद्मा रहेका मधेसवादी दललाई अधिकारसम्पन्न गर्नुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो। राजपाका महामन्त्री केशव झाले पाण्डे समिति-राजपा वार्तामा नेताहरूले पार्टीका माग स्पष्ट गरेको बताए।- अन्नपूर्ण दैनिकबाट ।

महन्थ ठाकुर राजकिशोर यादव

विशेष