सेयर बजारमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २ सय ३० बिन्दुमा पुगेको छ ।
बजारमा दोहोरो अंकको वृद्धि भई कारोबार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २ सय १७ बिन्दुमा रहेको सेयर बुधबार १३.०६ अंकको वृद्धिसँगै अर्को उचाइमा पुगेको हो । कुल १ सय ६५ कम्पनीको ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको सेयर किनबेच भएको थियो । स्टकका अनुसार बुधबार होटल १।४१, फाइनान्स र उत्पादन समूह क्रमशः २।२३ र २।६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ ।
स्टकका अनुसार बैंकिङ १३।९८, विकास बैंक १४।८४, जलविद्युत् ४।८१, निर्जीवन बीमा ११३।५२, अन्य ७।१९, माइक्रोफाइनान्स १५।८८ र निर्जीवन बीमा समूह ३।९८ बिन्दुले बढेका छन् । कारोबारका आधारमा यस दिन एनआइसी एसिया बैंकको सेयर कारोबार बुधबार अग्रस्थानमा छ । सो बैंकको चार करोड ८९ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता सेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ ।
ग्लोबल आइएमई बैंकको तीन करोड ६९ लाखबराबरको सेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५।२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका सेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५।७ प्रतिशत गुमाएका छन् ।
सेयर कारोबार