News

जोशी फर्किएपछि सर्वोच्चमा सकस

जोशी फर्किएपछि सर्वोच्चमा सकस

काठमाडौं  । वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहालीसँग सर्वोच्च फर्केका हुन् ।

 

प्रधानन्यायाधीश मिश्रले मंगलबार जोशीलाई पेशी नतोकेपछि उनको आगमन थप जिज्ञासाको विषय बनेको छ । अरु सबै न्यायाधीशलाई भने मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो।तत्कालीन कामु प्रधानन्यायाधीश जोशी संसदीय समितिबाट अनुमोदन नभएपछि उनले राजीनामा गर्ने अनुमान गरिएको थियो । तर जोशी लामो घरबिदा बसेर सोमबार सर्वोच्च फर्केका हुन् ।

 

मंगलबार कार्यालय पुगे पनि न्यायसम्पादनको जिम्मेवारी नतोकिएपछि जोशी हाजिरी पुस्तिकामा हस्ताक्षर गरेर बेलुका यत्तिकै घर फर्किए । सोमबार भने जोशीले आफू मुद्दा सुनुवाइमा सहभागी हुने भनाइ राखेका थिए ।

 

प्रधानन्यायाधीश मिश्र जोशीका विषयमा ‘पर्ख र हेर’को अवस्थामा छन् । सर्वोच्चका एक न्यायाधीशका अनुसार सर्वोच्चकै कतिपय न्यायाधीशबाट जोशीबारे ‘पुनर्विचार गर्न’ सुझाव दिइएको छ । मर्यादाक्रममा माथि रहेका केही न्यायाधीशले जोशीलाई ‘वरिष्ठ’ को हैसियतमा इजलासको जिम्मेवारी दिँदा बाहिर जाने सन्देशको ख्याल राख्न प्रधानन्यायाधीश मिश्रलाई सुझाएका थिए।

 

उनीहरूले इजलासमा मर्यादाक्रमको विषयमै जटिलता आउन सक्ने भन्दै सुझाव दिएका छन् । जोशी नवनियुक्त प्रधानन्यायाधीशलाई स्वागत गर्न चेम्बरमा देखेपछि केही न्यायाधीश सोमबार चाँडै बाहिरिए । ‘कतिपय श्रीमान्को इजलासमा सँगै बस्दा वरिष्ठताक्रममा अफ्ठ्यारो पर्छ कि भन्ने आशय थियो,’ सर्वोच्चका ती न्यायाधीशले भने, ‘उहाँहरूले बाहिरी परिस्थितिको पनि मूल्यांकन गर्न भन्नुभयो । अरु अफ्ठ्यारा पनि आइपर्न सक्ने कुरामा उहाँहरूको सरोकार रह्यो । तर जवाफमा प्रधानन्यायाधीशले मुन्टो मात्र हल्लाउनु भो । यसबारे कुनै प्रतिक्रिया आएन ।’

 

सुझावपछि नै जोशीलाई पेशी नतोकिएको हुन सक्ने अनुमान ती न्यायाधीशको छ । जोशीलाई दोस्रो वरियतामा राख्दा प्रधानन्यायाधीशको अनुपस्थितिमा कामु प्रधानन्यायाधीश तोक्न, न्यायपरिषद् सदस्यमा उपस्थिति जनाएर निर्णय लिन, इजलासको मर्यादाक्रम तय गर्न र वरिष्ठ न्यायाधीशको हैसियतमा विभिन्न समितिको नेतृत्व तोक्न र अन्य जिम्मेवारी तोक्न सहज नहुने भनाइ एकथरी न्यायाधीशको छ ।

 

केहीले भने जोशीलाई मुद्दाको जिम्मेवारी तोक्न संवैधानिक, कानुनी र प्रशासनिक दृष्टिले बाधा नहुने बताए । ‘उहाँ (जोशी) लाई न्यायसम्पादनको जिम्मेवारी दिन अरु बाधा छैन तर नैतिकताको प्रश्न उठ्न सक्छ । यो व्यक्तिमा भर पर्ने कुरो हो ।’

 

जोशीलाई बुधबारको पेशी तय गर्ने–नगर्नेबारे प्रधाानन्यायाधीश मिश्र मंगलबार साँझसम्म दोधारमै रहेको जानकारी उनी निकटस्थ स्रोतले गरायो । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले पेशी तोक्ने विषय प्रधानन्यायाधीशको रहेकाले आफूलाई जानकारी नहुने बताए । जोशीको आगमनलाई न्याय क्षेत्रमा उत्सुकतापूर्वक हेरिएको छ ।

 

न्यायाधीश जोशीले भने अन्य सहकर्मी न्यायाधीशसँग इजलासमा बस्न आफूलाई कुनै बाधा नहुने भन्दै बुधबार पनि सर्वोच्च जाने बताए । ‘इजलास दिने–नदिने प्रधानन्यायाधीशको कुरो हो । मैले के भन्ने ? ’ जोशीले भने, ‘अदालतमा सबै काम न्यायपूर्वक हुन्छ भन्ने आशा गरौं ।’ - अन्नपूर्णपाेष्ट दैनिकबाट ।

दीपकराज जोशी सर्वोच्च अदालत संसदीय सुनुवाइ विशेष समिति ओमप्रकाश मिश्र

विशेष