News

दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो

दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो

                                                                      समाचार प्रतिनिधि स्केच

चन्द्रपुर । राैतहटको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् ।

 

चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता दासलाई मंगलबार राति करिब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव हानेर भागेका हुन् ।

 

घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजावले आक्रमण गरी भागेको पीडित परिवारले जनाएको छ । तेजाव हानेर भाग्ने व्यक्तिको खोजी गरीरहेको प्रहरीले जनाएको छ । तेजाव आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

 

अनुहारमा तेजाव लागेर घाइते दुवै दिदी बिहिनीको उपचारका  काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । राति करिब १२ बजे नचिनेको व्यक्तिहरु ढोका खोलेर घरमा पसेर दुवै छोरीको अनुहारमा तेजाव हानेर  भागेको पीडित किशोरीहरुका बुवा जादोलाल दासले बताएका छन् ।

 

ढोकाको चुकुल कमजोर रहेकाले तेजाव आक्रमण गर्ने व्यक्तिले सहजै खोलेको पीडित परिवारको अनुमान छ । सम्झनाको अनुहारमा घाउ र आँखामा तेजावका कारण धेरै चोट लागेको छ । सुस्मिताको टाउको र अनुहारमा घाउ भएको छ ।  अध्यारो भएकाले तेजाव हान्ने व्यक्ति चिन्न नसकेको उनीहरुले बताएका छन् ।

 

घाइते सम्झनाले जनज्योति माविमा कक्षा ७ मा पढेर छोडेकी थिइन् भने १५ वर्षीया सुस्मिता त्यही विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । दुवै घाइतेहरु राति उपचार गर्न ल्याएको बताउँदै चन्द्रपुर अस्पताल प्रालिका डा. सुभाष कुमार चौधरीले उनीहरुको अनुहारमा घाउ भएको जानकारी दिएका छन् ।

 

घटनाको खबर पाएलगत्तै डिएसपी युवराज खड्काको टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै उनले फरार व्यक्तिको खोजी पनि जारी राखिएको बताए ।- अन्नपूर्णपाेष्ट दैनिकबाट ।

चन्द्रपुर नगरपालिका तेजाव

विशेष