News

३९ अर्ब रुपयाँमा मुक्तिनाथ केबलकार बन्ने

३९ अर्ब रुपयाँमा मुक्तिनाथ केबलकार बन्ने

काठमाडौं । मुक्तिनाथसम्म केबल कार निर्माण गरी सञ्चालन गर्ने सम्बन्धमा लगानी बोर्ड र प्रबद्र्धक कम्पनीबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

 

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ८३ किलोमिटर केबल कार निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।

 

हस्ताक्षरपछि लगानी बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परियोजनाका लागि ३५ करोड अमेरिकी डलर (हालको मूल्यमा ३९ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान छ । 

 

केबल कारको उक्त ८३.६५ किलोमिटर लाइनमा ६ वटा स्टेसन रहने विज्ञप्तिमा उल्लेख छ । यसअनुसार वीरेठाँटी–घोरेपानी, घोरेपानी–तातोपानी, तातोपानी–लेते–मार्फा, लेते–मार्फा–जोमसोम, जोमसोम–कागबेनी र कागबेनी–मुक्तिनाथखण्डमा स्टेसन निर्माण हुनेछ ।

 

गत वैशाख १५ मा बसेको लगानी बोर्डको ३० औं बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको थियो । बैठकले उक्त कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको थियो । 

 

समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महिनाभित्र डीपीआर तयार गरी लगानी बोर्ड समक्ष पेश गर्नुपर्ने बोर्डका सहसचिव उत्तमभक्त वाग्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा छ । - अन्नपूर्णपाेष्ट दैनिकबाट ।

लगानी बोर्ड मुस्ताङ  मुक्तिनाथ प्रबद्र्धक कम्पनी

विशेष