News

फेरि स्वाइन फ्लु र हङकङ फ्लु फेला

फेरि स्वाइन फ्लु र हङकङ फ्लु फेला

राजविराज । सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । 

 

ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताए । 

 

 

कञ्चनरुप नगरपालिका-७ का हरिलाल साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएको बताउँदै उहाँले भारतको झारखण्डस्थित बाबाधाम गएर आएका कञ्चनरुप नगरपालिका-४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं ७ का साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएपछि उतैबाट रोगको सङ्क्रमण शुरु भएको हुन सक्ने आशङ्का गरिएको जानकारी दिए । 

 

 

कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा बिरामी बढ्न थालेपछि भदौ २४ गतेदेखि सप्तरीको कञ्चनपुर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार १२२ जनाको स्वास्थ्य परीक्षण गराइएका छन् । जसमध्ये २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रमुख यादवले बताए । 

 

 

सोही परीक्षणपश्चात् कञ्चनरुप नगरपालिका-७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण भएको पाइएको र कञ्चनरुपका अन्य चार जना तथा हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको यादवले जानकारी दिए ।

 

 

जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबार सम्पन्न आपत्कालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा सहायता कक्ष राख्ने विषयमा निर्णय भएको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिए ।

 

 

साथै, प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै स्वाइन फ्लु तथा हङकङ फ्लु फोहोर तथा भीडभाडका कारण चाँडो फैलने भएकाले भीडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाइमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गरे ।
 

स्वाइन फ्लु सप्तरी राजविराज हङकङ फ्लु

विशेष