विदेश

मन्दिरमा पशु बलि प्रतिबन्ध

मन्दिरमा पशु बलि प्रतिबन्ध

कोलम्बो । श्रीलंकाको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशुबलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो । 

 

सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिएका समाचारमा जनाइएको छ । सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दू धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले भने असन्तुष्टि जनाइएको बताइएको छ । 

 

हिन्दुमामिला मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी देशभरका केही मन्दिरहरुमा परीक्षण गर्दै लागू गर्दै लैजाने सरकारले जनाएको छ । प्राचीनकालदेखिको यो अभ्यासलाई बिस्तारै देशभरी विस्तार गर्ने सरकारको रणनीति छ । “कानून निर्माताले मन्दिरमा जनावर र पंक्षीको बलि दिन नपाइने व्यवस्थासहितको कानून बनाउन माग गरेका थिए,” सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

 

हिन्दुका विभिन्न चाडपर्वका बेलामा श्रीलंकाका कतिपय मन्दिरहरूमा बाख्रा, कुखुरा, भँैसीलगायतको बलि दिने प्रचलन रहेको छ । तर जनावर तथा पंक्षी अधिकारवादीहरूले भने त्यसको विरोध गर्दै आएका थिए । 

 

बलि दिनेहरूले भने लागू गर्न लागिएको नयाँ व्यवस्थाले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने बताएका छन् । आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलिप्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाइनुपर्ने उनीहरूको माग छ । श्रीलंकामा कुल जनसंख्याको १२ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको तथ्याङ्क छ । 

श्रीलंका पशुबलि चढाउन प्रतिबन्ध

विशेष