विदेश

विश्लेषक भन्छन्, ‘अफगान द्वन्द्व सिरियाभन्दा बढी घातक’

विश्लेषक भन्छन्, ‘अफगान द्वन्द्व सिरियाभन्दा बढी घातक’

काबुल । विश्लेषकहरुले अफगानिस्तानमा यस वर्ष जारी द्वन्द्व सिरियाली युद्ध भन्दा पनि बढी घातक हुन सक्ने बताएका छन् । सन् २०१८ मा अफगानिस्तानको हिंसाले विश्वलाई पछि पार्न सक्ने र यो सिरियाभन्दा पनि बढी हुन सक्ने उनीहरुको भनाई छ । सिरियामा जारी युद्धलाई विश्वकै एक खतरनाक द्वन्द्वका रुपमा हेरिन्छ । 

 

 

अमेरिकी नेतृत्वमा हस्तक्षेप भएयता १७ वर्षदेखि अफगानिस्तानको द्वन्द्व साम्य हुनुको साटो अझ डरलाग्दो र घातक भइरहेको छ ।  युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसमा कार्यरत अफगान विज्ञ जोनी वाल्सले भने- उता सिरियामा शान्ति स्थापनाका लागि भएका प्रयासहरु र यता अफगानिस्तानमा बढ्दो हिंसात्मक घटना र नागरिक हताहतका दृश्य हेर्दा सन् २०१८ मा विश्वमा अफगानिस्तान नै सबैभन्दा बढी हिंसा हुने देश हुन सक्दछ । 

 


सिरियामा अफगानिस्तानको भन्दा करिब एक दशकपछि द्वन्द्व शुरु भएको थियो । सिरियामा यसवर्ष करिब १५ हजार नागरिकको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । 

 

 

तर अफगानिस्तानमा यस वर्ष ज्यान गुमाउने नागरिकको संख्या २० हजार कट्ने देखिएको इन्टरनेसनल क्राइसिस ग्रुपका एकजना परामर्शदाता ग्रामी स्मीथले जानकारी दिए ।

 


अफगानिस्तानको गृहमन्त्रालयका उपप्रवक्ता नसरत राहिमीको अनुमानमा हरेक साता ३०० देखि ४०० दुश्मन लडाकूहरु मारिने गरेको बताए। तर उनले नागरिकको मृत्यु र सरकारी फौजको विवरण उपलब्ध गराउन चाहनु भएन । 

 

 

अफगानिस्तानमा जारी द्वन्द्वमा सन् २०१४ यता मृत्यु हुनेको संख्या एकाएक बढेको पाइएको छ । यस वर्षको अक्टोबर २० मा संसदीय चुनाव गर्ने तथा तालिबानसँग वार्ता गर्ने प्रस्ताव आएलगत्तै हिंसात्मक घटनामा वृद्धि भएको छ । 

 


पछिल्ला विवरणमा तालिबानले धेरै ठूलो भूभागमा कब्जा जमाउन सफल भएको पाइएको छ । सामान्यतया कमजोर ठानिएको इस्लामिक स्टेट्सले समेत आक्रमणका सिलसिला जारी राखेको छ ।

अफगानिस्तान काबुल

विशेष