News

निर्मलाका आमाबाबु भन्छन्, ‘आश्वासन धेरै पायौँ, न्याय चाहियो गृहमन्त्रीज्यू’

निर्मलाका आमाबाबु भन्छन्, ‘आश्वासन धेरै पायौँ, न्याय चाहियो गृहमन्त्रीज्यू’

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबाबुले न्यायको आश मरिसकेको बताएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएर फर्केपछि निर्मलाका आमाबाबुले सरकारबाट आश्वासन धेरै पाएको भन्दै अब न्याय चाहिएको बताए । ‘आश्वासन धेरै पायौँ, न्याय चाहियो गृहमन्त्रीज्यू,’ ज्ञापनपत्र बुझाउने क्रममा निर्मलाकी आमा दुर्गादेवीले भनिन् ।

 

गृहमन्त्रीले भने चिन्ता लिनु नपर्ने भन्दै दोषी पक्राउ पर्ने आश्वासन दिए । ‘हामी अपराधीको धेरै नजिक पुगिसकेका छौँ, चिन्ता लिनुपर्दैन, गृहमन्त्रीका रूपमा अपराधी पक्राउ नपर्दा मलाई पनि धेरै पीडा भइरहेको छ,’ गृहमन्त्री थापाको जवाफ थियो । तर, गृहमन्त्रीको जवाफबाट उनीहरू खुसी हुन सकेनन् ।

 

किनकि यस्ता आश्वासन उनीहरूले धेरैपटक पाइसकेका छन् । गृहमन्त्री थापाले एक महिनाअघि नै दुई अभियुक्त पक्राउ परिसकेको भनेर संसद्मा बोलेका थिए ।

 

गृहमन्त्रीसँग भेटेर निस्किएपछि गृह मन्त्रालय परिसरमा निर्मलाका बाबु यज्ञराजले भने, ‘आश्वासनको अब विश्वास लाग्न छाडिसक्यो ।’


५१ दिन बित्यो हत्या भएको


निर्मलाको हत्या भएको ५१ दिन भइसकेको छ । प्रहरी अनुसन्धान शून्यमा छ । हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका दिलीपसिंह विष्ट छुटिसकेका छन् ।

 

निर्मलाको शव भेटिएको ११ साउनदेखि निरन्तर सरकारलाई दबाब दिइएको छ । तर, सरकारले कसले निर्मलाको हत्या ग-यो भन्ने जवाफ दिन सकेको छैन ।

 

अनुसन्धानमा अलमलिएपछि प्रहरीले सर्वसाधारणको आशंकाको आधारमा तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण तथा अर्का स्थानीय युवकको समेत डिएनए परीक्षण अघि बढाएको छ ।

 

प्रहरीका अनुसार निर्मलाको गुप्तांगमा वीर्य भेटिएको थियो । यौनांगको बाहिरी भाग, बीचको भाग र भित्री भागमा रहेको वीर्य संकलन गरी डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको थियो ।

 

सुरुमा प्रहरीले स्थानीय दिलीपसिंह विष्ट र चक्रदेव बडूको पनि डिएनए परीक्षण गरिएको थियो । तर, डिएनए नमिलेपछि उनीहरू छुटिसकेका छन् ।

 

डिएनएबाहेक प्रहरीले अनुसन्धानको अरू बाटो नै भेटेको छैन । १० साउन दिउँसो घटनास्थलको मोबाइल लोकेसन हेरेर अनुसन्धान गरे पनि प्रहरीले केही पत्तो लगाउन सकेको छैन ।


प्रहरी अनुसन्धानमा अर्काे लापरबाही :  घटनास्थलमा किन लगिएन कुकुर ?
शवको प्रकृतिकै आधारमा निर्मलाको बलात्कारपछि हत्या भएको अनुमान गर्न गाह्रो थिएन । यस्तो गम्भीर घटनामा प्रहरीको सुरुवाती अनुसन्धान भने उदेकलाग्दो थियो ।

 

प्रहरीले घटनास्थलको सुरक्षामा समेत चासो दिएन । अर्काेतर्फ यस्ता घटनामा प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिने गर्दछ । तर, यो घटनाको अनुसन्धानमा कुकुर नझिकाइनुले प्रहरीको नियतमाथि झन् प्रश्न उठेको छ ।

 

यदि तालिमप्राप्त कुकुर लगिएको भए अभियुक्त कुन बाटो गएका थिए भन्ने पत्ता लाग्थ्यो । जसले प्रहरीले अनुसन्धानका लागि सहजता हुनसक्थ्यो । तत्कालीन प्रहरी प्रमुख विष्टले अनुसन्धानमा चरम लापरबाही गरेका थिए ।

 

पाँच दिनसम्म पनि उनी घटनास्थल नगएको गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिका एक अधिकारीले बताए । प्रहरीले सुरुदेखि नै आफूहरूलाई असहयोग गरेको र घटनास्थलको सुरक्षा गर्नभन्दा इन्सपेक्टर एकेन्द्र खड्काले उल्टो धम्काएको निर्मलाका बुबा यज्ञराज बताउँछन् ।


संसद्मा गृहमन्त्री थापाले भने ‘६ महिनामा मुलुकको शान्ति सुरक्षा राम्रो ’

 गृहमन्त्री रामबहादुर थापाले सरकार गठन भएपछिको ६ महिनामा शान्ति सुरक्षा कायम विगतको भन्दा राम्रो भएको दाबी गरेका छन् ।

 

विपक्षी दलका सांसदले सरकार गठन भएदेखि हालसम्म बलात्कार, हत्या हिंसाको घटना वृद्धि भएको भन्दै सरकारको आलोचना गरेपछि गृहमन्त्रीले अपराध तथा गुण्डागर्दी नियन्त्रणमा सरकार सफल भइरहेको बताएका हुन् ।

 

प्रतिनिधिसभा र राष्ट्रिय सभा शुक्रबारको बैठकमा गृहमन्त्री थापाले हत्या, हिंसा, बलात्कारको घटनामाथि सरकारले गरिरहेको छानबिनबारे जानकारी गराए ।

 

‘६ महिनाको कालखण्ड सुरक्षाको दृष्टिकोणले सबैभन्दा कालो कालखण्ड हो कि भन्ने गम्भीर विषय उठाउनुभयो । सरकार र गृह मन्त्रालयको निष्कर्ष यो छैन । यस अवधिमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने कुरामा सबैभन्दा राम्रो भएको छ भन्ने निष्कर्ष छ,’ गृहमन्त्रीले भने ।


निर्मला हत्याको गहन  छानबिन भइरहेको छ
गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको छानबिन गर्न गठित समितिका सबै सदस्य तथा उनीहरूका परिवारलाई सरकारले आवश्यक सुरक्षा दिएको बताए ।

 

छानबिन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा संसद्मा विपक्षी सांसदहरूले प्रश्न गरेपछि गृहमन्त्रीले सुरक्षाको प्रत्याभूति दिलाएपछि उनी समितिमा फर्किएको जानकारी दिए ।

 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विषयले आमजनमानसमा चिन्ता उत्पन्न गरेको भन्दै गृहमन्त्री थापाले पन्तको हत्याको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सनी खुना र पन्तको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको बताए । ‘मृतकलाई सहिद घोषणा गरिएको छ । घटनाको विस्तृत छानबिन भइरहेको छ,’  उनले भने ।


राजपाले माग्यो जवाफ
प्रतिनिधिसभाको शुक्रबारको बैठक प्रारम्भमै राजपा नेपालले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको मृत्यु हुनाको कारणबारे जानकारी माग गरेको थियो ।

 

राजपाका नेता लक्ष्मणलाल कर्णले शान्तिपूर्ण आन्दोलनको पक्ष भनेकै कालो झन्डा देखाउनु भएको बताउँदै झन्डा देखाउँदैमा पक्राउ गर्नु र हिरासतमा मृत्यु हुनु शंकास्पद भएको बताए ।

 

‘शान्तिपूर्ण आन्दोलनको पक्ष भनेकै झन्डा देखाउनु हो । नत्र के लठ्ठी,भाला देखाउने बन्दुक देखाउने ?’ उनले प्रश्न गरे । उनले संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनको माग गरे ।

 

बर्दियामा प्रहरीले हिरासतमा लिएका यादवको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा १६ भदौमा मृत्यु भएको थियो । राजपाले उठाएको प्रश्नको गृहमन्त्री थापाले तत्काल जवाफ दिएका थिए । मेडिकल रिपोर्टमा कुटपिटबाट नभई रोगको कारणले मृत्यु भएको गृहमन्त्री थापाले बताए । -नयाँ पत्रिकाबाट ।

कञ्चनपुर निर्मला पन्त

विशेष