News

पहिरोले छ घण्टादेखि थुनियो बडिगाड खोलो, कयौँ बस्ती जोखिममा

पहिरोले छ घण्टादेखि थुनियो बडिगाड खोलो, कयौँ बस्ती जोखिममा

बागलुङ/ गुल्मी । बाग्लुङको भिमगिठेमा शुक्रबार मध्यराति १२ बजे गएको पहिरोले बडिगाड खोलो थुनिएको छ । पहिराले थुनिएपछि खोलामा ठुलो ताल बनेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । मध्यरातमा झरेको पहिरोले बडीगाड खोलो पुरै थुनिएको प्रहरीको भनाई छ । 

 

बागलुङको बडिगाड र ढोरपाटन नगरपालिकाको सिमाना तुरतुरे भिरबाट ठुलो पहिरो खस्दा बडिगाड खोलो थुनिएको हो ।

 

राति ११ बजेको समयमा माथिबाट सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ। घटनापछि क्षतिको एकिन विवरण आउन बाँकी छ । प्राप्त जानकारी अनुसार त्यही स्थानमा रहेको एक गोठ र गोठमा भएका २ वटा गोरु खोलो थुनिएर बनेको तालमै परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिएका छन् । 

 

पहिरो मध्य पहाडी लोकमार्ग भन्दा १० मिटर माथिसम्म थुप्रिएकाले सबैलाई सजक हुन प्रशासनले आग्रह गरेको छ । मध्य पहाडी लोकमार्ग भन्दा ७ मिटर तलसम्म पानीको बाहव आएकाले तल्लो बस्ती भिमगिठे, खाल र खारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । 

 

पानी तालबाट बाहिर जाने क्रम रोकिएकाले अहिले सम्म १ किलो मिटरसम्म पानीको ताल फैलिएको छ । पानीको बहाव बढेसँगै त्यसभन्दा माथिको बस्ती समेत जोखिममा रहेको छ ।

 

बडिगाड खोलो थुनिएपछि गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बामी, भुवाचिदी, आँपचौर, ग्वादीका चाग्वालीचौर  खैरेनी, रिडी लगायत क्षेत्रका बासिन्दा जोखिममा परेको स्थानीयले बताएका छन् । 

 

पहिरो खसेर ताल बनेको क्षेत्रमा गुल्मी र बाग्लुङको प्रहरीको टोली खटेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर बस्न प्रशासनले आग्रह गरेको छ । 

बागलुङ भिमगिठे बडिगाड खोलो

विशेष