News

भागबन्डा र विवाद मिलेपछि मात्रै कांग्रेस बैठक बस्ने

भागबन्डा र विवाद मिलेपछि मात्रै कांग्रेस बैठक बस्ने

दुईपटकसम्म मिति घोषणा गरेर पनि बस्दै नबसी स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक आन्तरिक विवाद मिलाएपछि मात्र बस्ने भएको छ ।

 

पहिले नै मिति घोषणा गर्दा सहमति गर्न अप्ठ्यारो भएको भन्दै अब शीर्ष नेताहरूबीच छलफलका एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने निर्णय भएको छ ।

 

प्रवक्ता विश्वप्रकाश शर्माले अब नेताहरूबीच अनुशासन समिति, केन्द्रीय कार्यसम्पादन समितिसहितमा सहमति भएपछि मात्रै बैठकको मिति तोकिने जानकारी दिए ।

 

‘दुईपटकसम्म केन्द्रीय समितिको बैठक तोकिएपछि नेताहरूबीच सहमति नभएपछि स्थगित भयो,’ शर्माले भने, ‘अब नेताहरूबीच सहमति भएपछि मात्र केन्द्रीय समितिको बैठक बस्नेछ ।’ नेताहरूका गुनासो र विमति सल्टिएपछि मात्र बैठक बस्ने उनको भनाइ छ ।


पौडेल युरोप भ्रमणमा
यसैबीच, नेता रामचन्द्र पौडेल युरोपको दश दिने भ्रमणमा निस्किएका छन् । युरोपका विभिन्न देशमा हुने जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

प्रवक्ता शर्माले नेता पौडेल युरोपबाट फर्किएपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिए । पौडेल फर्किएपछि पहिले पार्टी सभापति शेरबहादुर देउवा र पौडेलबीच विवादित विषयमा सहमति हुने र त्यसपछि बैठक आह्वान हुने उनले बताए ।

 

‘सभापति र नेता पौडेलबीच सहमति भएपछि मात्र बैठक बस्छ,’ शर्माले भने, ‘उहाँ फर्किएपछि विधान मस्यौदा समिति, नेविसंघको विधान र नियमावलीसहितको विषय टुंगिन्छ अनि बैठक बस्छ ।’  - नयाँ पत्रिकाबाट ।

विश्वप्रकाश शर्मा नेपाली काँग्रेस कांग्रेस केन्द्रीय समिति

विशेष