News

पाटन दरबारकोे भीमसेनको मन्दिर पुनःनिर्माण

पाटन दरबारकोे भीमसेनको मन्दिर पुनःनिर्माण

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फकोे भीमसेनको मन्दिर ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा पुनःनिर्माण हुने भएको छ ।विनाशकारी भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएको यो मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको हो । 

 

भारतीय सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको तीन वर्ष बित्दासमेत काम अघि नबढेकाले स्थानीय व्यापारी र टोल सुधार समिति आफैले मन्दिर निर्माणमा केही समयदेखि चासो देखाएका उक्त संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए । 

 

केही दिन पहिले मन्दिरको पुनःनिर्माणको जिम्मेवारी स्थानीयवासीले नै लिने भन्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली दूतावास पुगेको थियो ।

 

स्थानीयवासीले बनाउँदा भारत सरकारलाई आपत्ति नहुने दूतावासको प्रतिक्रिया आएको उनले जानकारी दिए । भारतीय सहयोगमै पुनःनिर्माणका लागि सबै प्रक्रिया पु¥याउँदा पनि १४/ १५ महिनाअघि पुनःनिर्माण हुनसक्ने अवस्था नरहेको र छिटै पुनःनिर्माण नहुँदा थप भौतिक क्षति हुनसक्ने सम्भावना रहेको उनले बताए । 

 

क्षतिग्रस्त मन्दिरका कारण स्थानीयवासी र सवारी साधन चालकले समेत दैनिक कष्टकर यात्रा गर्न बाध्य छन् । उत्तरी भागमा काठले मन्दिरलाई अड्याइएको छ । सवारी साधन आगमन र यात्रुको आवतजावत धेरै हुने यो सडकमा काठका कारण यात्रु सजिलै हिँड्न नसकेको स्थानीयवासी सतिश महर्जनले बताए । साना नानी यही सडक भएर विद्यालय जान्छन् । उनले भने, “मन्दिर बनाउन ढिला गर्दा दुर्घटनासमेत हुन सक्छ ।” 
 

मन्दिर भत्काउनु अघि गत मंगलबार क्षमापूजा गरिएको थियो । मन्दिर कुन तलासम्म र कुन कुन भाग बनाउने टुंगो लगाएर मात्रै काम थालिने र मन्दिरमा भएका कलात्मक वस्तुको विवरण पनि तयार गरिने भएको छ । 

 

मन्दिर कसरी बनाउने भन्ने अन्तिम टुंगो लाग्न बाँकी रहेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । मन्दिर जीर्ण बन्दै गएकाले पनि स्थानीयवासीले भीमसेन मन्दिर चाँडो निर्माण होस् भन्ने चाहेका छन् । 

 

उक्त संघको अगुवाइमा ललितपुर महानगरपालिका, मंगलटोल सुधार संघलगायत पाटनका सम्पूर्ण जातीय संघ, अन्य व्यावसायिक संघसमेत मन्दिर पुनःनिर्माणका लागि सहभागी भएका र यसका लागि  चार करोड ८१ लाख लाग्ने अनुमान गरिएको छ । 

 

मल्लराजा श्रीनिवास मल्ले विसं १६८० मा निर्माण गरेका यो मन्दिर तीन तलाको छ । भीमसेनलाई र बहादुर र बलवान् देवताका रूपमा पुजिन्छ । यो मन्दिरलाई नेपाली वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ । 

पाटन दरबार भीमसेनको मन्दिर ललितपुर उद्योग वाणिज्य संघ

विशेष