News

बिहान विद्यार्थी, दिउँसो सफारी चालक

बिहान विद्यार्थी, दिउँसो सफारी चालक

लक्ष्मीमार्ग(मोरङ)  । रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् ।

 

बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’

 

घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ ।

 

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने र आफू तथा भाइबहिनीका लागि पढाइखर्च जुटाउने उद्यम हो ।

 

दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र आसपासका ठाउँको चक्कर लगाउँछिन् । ‘कति सानी नानीले चलाएको भन्दै सफारीमा चढ्ने यात्रुले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ,’ उनले भनिन् ।

 

चार महिनादेखि सिटी सफारीसँग उनको सम्बन्ध गाँसिन पुगेको हो । ‘दैनिक पाँच सय रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन्, ‘आधा पैसा खर्च हुन्छ, आधा जति जम्मा गर्ने गरेको छु ।’

 

मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा टाटीले बेरेको र खियाले खाएर मक्काइसकेको कर्कटपाताको छानो भएको उनको सानो झुपडी छ ।

 

माइतीले दिएको १० धुर जमिनमा बस्छिन्, जुना कार्की, रिताकी आमा । उनका चार छोरी र एक छोरा छन् । जेठी र माइलीको विवाह भइसक्यो । साँहिली रिता हुन् । कान्छी नितु र छोरा मदन सँगै छन् । नितु ७ र मदन २ कक्षाका विद्यार्थी हुन् ।- अन्नपूर्णपाष्ट दैनिकबाट ।

रीता कार्की बेलबारी नगरपालिका

विशेष