News प्रवास

साउदी जाने नेपाली कामदारको पारिश्रमिक वृद्धि

साउदी जाने नेपाली कामदारको पारिश्रमिक वृद्धि

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध-दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । 

 

 

छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको हो । 

 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टको विशेष सक्रियतामा मन्त्रालयले उक्त प्रस्ताव तयार पारेको हो । 

 

पुनरवलोकन गरिएको पारिश्रमिकअनुसार साउदी अरबमा काम गर्न जाने नेपालीले अब न्यूनतम एक हजारदेखि अधिकतम ११ हजार साउदी रियालसम्म पाउनेछन् । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । सरकारले लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय र वाचमेनमा काम गर्न जाने व्यक्तिलाई अदक्ष कामदारका रुपमा वर्गीकरण गरेको छ । 

 

 

ती कामका लागि साउदी जाने अदक्ष नेपाली कामदारले अब न्यूनतम पारिश्रमिक साउदी रियाल एक हजार (करीब नेपाली ३० हजार) पाउनेछन् । यसअघि साउदीमा काम गर्न जाने अदक्ष कामदारको परिश्रमिक साउदी रियाल ८०० (नेपाली करीब २२ हजार) निर्धारण गरिएको थियो । 

 

 

ती कामदारले खाना भत्ताबापत साउदी रियाल ३०० (नेपाली करीब नौ हजार) प्राप्त गर्नेछन् । यसअघि खाना भत्ताबापत कामदारले साउदी रियाल २०० (नेपाली करीब छ हजार) पाउँदै आएका थिए । 

 

 

सरकारले अदक्ष कामदारका लागि औषधोपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात सुविधा कम्पनी वा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत गरेको छ ।

 

 

न्यूनतम पारिश्रमिक र अन्य सुविधा वृद्धि भएसँगै एक अदक्ष नेपाली कामदारले आवास सुविधासहित कम्तिमा मासिक साउदी रियाल एक हजार ३०० (नेपाली करीब ४० हजार) पारिश्रमिक पाउने छन् । 
 

वैदेशिक रोजगारी साउदी अरब पारिश्रमिक वृद्धि

विशेष