News

उद्योगमन्त्रीको अनुगमन शंकास्पद: अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय

उद्योगमन्त्रीको अनुगमन शंकास्पद: अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको बजार अनुगमन अपरिपक्व देखिएको छ। मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा सञ्चालन गरेको तेल उद्योगमा सिल गरेको भेटिएको हो।

 

उद्योगमाथि लगाएको आरोपको प्रमाण नजुटेपछि मन्त्रीकै निर्देशनमा सिल खोलिएको छ। मन्त्री यादव नेतृत्वको टोलीले उद्योगबाट लिएको तेलको स्याम्पल (नमुना) गुणस्तरहीन भन्दै ताला लगाए पनि उद्योगले बजारमा बिक्री गरेको तेल नेपाल गुणस्तर तथा नापतौल विभागको ल्याब परीक्षण गर्दा गुणस्तरीय (खानयोग्य) प्रमाणित भएको छ।

 

गुणस्तरहीन तेल उत्पादन गरेको आरोपमा मन्त्रीको निर्देशनपछि गत ७ गते उद्योगमा सिल गरिएको थियो। मन्त्रीसहित अनुगमन टोलीको कच्चा अनुगमनले २२ दिन उद्योग बन्द गरेर शुक्रबार सिल खोलिएको छ।

 

निम्बस समूहले सञ्चालन गरेको प्रोबायोटिक इन्डस्ट्रिज प्रालिले व्यन्जन र सुनौलो किरण ब्रान्डमा तोरी, सूर्यमुखी, सोयाबिन तेल उत्पादन गर्दै आएको छ।

 

निम्बस समूहले उत्पादन गरेर बजारमा बिक्री गरेको तेल खानयोग्य भएको गुणस्तर विभागका एक अधिकारीले पुष्टि गरे। ‘बजारबाट ल्याएको स्याम्पलको ल्याब टेस्ट गर्दा अखाद्य वस्तु भेटिएन,’ ती अधिकारीले भने, ‘खाने तेलमा हुनुपर्ने सबै गुण भएकाले खानयोग्य छ ।’ मन्त्रालयकै सिफारिसमा विभागले व्यन्जन र सुनौलो तेलको परीक्षण गरेको थियो।

 

गत साउन २३ मा मन्त्री यादव नेतृत्वको टोलीले अनुगमनमा जाँदा बजारमा पठाउन तयारी अवस्थामा रहेको फिनिस प्रोडक्ट नल्याई अप्रशोधित तेल ल्याएर परीक्षण गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा पुगेका यादव अनुगमन गर्न उद्योग पुगेका थिए ।

 

अनुमगन टोलीले प्रशोधनको प्रोसेसिङमा रहेको खुला तेल परीक्षण गरेर अखाद्य भएको आरोप लगाएको प्रोबायोटेक इन्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक दिनेश गौतमले बताए। ‘गुणस्तरहीन भएको आरोप लागे पनि पुष्टि गर्ने कुनै आधार थिएन,’ गौतमले भने, ‘कसुर नै नगरी उद्योग लामो समय बन्द भयो।’

 

मन्त्रीकै नेतृत्वमा गएको टोलीको कच्चा अनुगमनका कारण उद्योग तीन साता बन्द भएको छ। नमुना लिएर आएको १४ दिनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालय, पर्सालाई पत्राचार गरेर सिलबन्दी गर्न निर्देशन दिएको थियो ।

 

विभागका महानिर्देशक योगेन्द्र गौचनको निर्देशनपछि पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले मातहतका कर्मचारी परिचालन गरेर उद्योगमा सिल गरेको थियो। माथिको आदेशपछि सिलबन्दी खोलेको पर्साका प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए।

 

उद्योगमा सिल गरे पनि सरकारी निकायले सिल गर्नुको चित्तबुझ्दो जवाफ दिएका थिएनन्। उद्योगले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले उद्योग बन्द गरेको बारेमा कारण देखाऊ आदेश जारी गर्दै उद्योग बन्द गर्नुको प्रमाण पेस गर्न निर्देशन दिएको थियो। - नागरिक दैनिकबाट ।

मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

विशेष